पोखरा । नेपाल परिवार नियोजन संघ कास्की शाखाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ‘के चाहन्छन् युवा’ विषयक युवा भेला गरेको छ। युवाका आवश्यकता, भावना, चाहना र समस्याका विषयमा प्रत्यक्ष छलफल गरी उनीहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले भेला आयोजना गरिएको नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले बताए । पोखरा महानगरपालिका वडा नं. १८ कार्यालयको सहयोगमा आयोजना भएको भेलामा विभिन्न क्षेत्रमा आवद्ध रहेका १८ देखि २२ वर्ष उमेर समूहका युवाहरूको सहभागिता रहेको उनको भनाइ छ । कार्यक्रममा सामुहिक छलफललाई प्राथमिकता दिएको उनले बताए ।
सभापति सिग्देलका अनुसार कार्यक्रममा युवालाई यौन तथा प्रजनन स्वास्थ्यको बारेमा समेत जानकारी गराइएको थियो । सामुहिक छलफलको लागि ७ वटा समुह विभाजन गरेर प्रस्तुती राख्न लगाइएको उनले बताए । सहभागी युवाले समाजमा गएर यौन तथा प्रजनन स्वास्थ्यका बारेमा समेत सचेतना फैलाउने विश्वास गरिएको छ ।
युवाको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका समस्या, भविष्यप्रतिको अपेक्षा तथा राज्य र स्थानीय तहबाट प्राप्त हुनुपर्ने सेवा–सुविधाका विषयमा युवाकै धारणा बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले बताए । उनका अनुसार युवा पुस्ताका आवश्यकता र चाहनाबारे सरोकारवाला निकायले आफ्नै दृष्टिकोणबाट धारणा बनाउनेभन्दा युवाकै आवाज सुन्न आवश्यक भएकाले भेला आयोजना गरिएको थियो ।
भेलाबाट प्राप्त सुझाव तथा निष्कर्षलाई दस्तावेजका रूपमा तयार गरी स्थानीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित सरोकारवाला निकायलाई बुझाउने संघको योजना छ। यसबाट युवाका वास्तविक आवश्यकता पहिचान गरी आगामी दिनमा युवा लक्षित नीति, कार्यक्रम तथा सेवाहरू निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा पोखरा १८ का वडाध्यक्ष शिव तिमिल्सिना, सदस्य कल्पना ढकाल क्षेत्री, नेपाल परिवार नियोजन संघ कास्की कोषाध्यक्ष विष्णु दाहाल, स्टार्फ नर्स अञ्जना भट्टराई भण्डारी र अनुषा भुजेल, सहभागी युवा हेमा सुनार र तेजेन्द्र केसीले बोलेका थिए ।
















