पोखरा । कास्की नेत्रहीन संघले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक पहुँच र सिकाइलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ५ लाख रुपैयाँ बराबरका सहायक प्रविधि तथा शैक्षिक सामग्री वितरण गरेको छ। गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालय, कास्कीको आर्थिक सहयोगमा अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभूत विद्यालयका स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले प्रविधिको विकाससँगै दृष्टिविहीन विद्यार्थीहरूले आधुनिक सिकाइ सामग्री प्राप्त गर्नु ठूलो अवसर भएको बताए । उनले सामग्रीको सही उपयोग गर्न सके त्यसले विद्यार्थीको जीवन परिवर्तन गर्न सक्ने उल्लेख गरे ।

उनले भने, “यो ५ लाख रुपैयाँ बराबरको सामग्री मात्र होइन, यसको सही सदुपयोग गर्न सकियो भने यसबाट २५ करोड रुपैयाँ बराबरको ज्ञान आर्जन गर्न सकिन्छ। प्रविधिको प्रयोगले विद्यार्थीलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन मद्दत पुर्‍याउँछ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाले सबै विद्यार्थीलाई समान र सहज वातावरणमा शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ विद्यालयले निरन्तर काम गरिरहेको बताए । उनले दृष्टिविहीन विद्यार्थीको शिक्षामा सहयोग पुर्‍याउन विभिन्न संघसंस्था तथा प्रदेश सरकारको साथ महत्वपूर्ण रहेको उल्लेख गरे ।

उनले भने, “विशेष आवश्यकता भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय निरन्तर प्रयासरत छ। यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास बढाउनुका साथै उनीहरूको शैक्षिक भविष्यलाई थप उज्यालो बनाउँछ।”

कार्यक्रम अन्तर्गत एक हजार पुस्तकसम्म भण्डारण गरेर सुन्न सकिने डेजी प्लेयर, कक्षा १ देखि १२ स

म्मका ब्रेल पाठ्यपुस्तक, ब्रेल पेपर, स्लेट, स्टाइलस, ब्रेल शब्द फर्म, नेपाली तथा अंग्रेजी वर्णमालाका ब्रेल प्लेट, एबाकस, अंग्रेजी पजल तथा गणित–विज्ञान सम्बन्धी सामग्री वितरण गरिएको थियो। विद्यार्थीहरूको सुरक्षित हिँडडुलका लागि सेतो छडीसमेत प्रदान गरिएको छ ।

कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले यस्ता सहायक सामग्रीले दृष्टिविहीन विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्ने र उनीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा एकीकृत सेवा कार्यालय कास्कीका प्रमुख राजेन्द्र क्षेत्रीले सामग्रीको प्राप्ति मात्र ठूलो कुरा नभई यसको पूर्ण सदुपयोग हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा नेपाल नेत्रहीन संघका केन्द्रीय सदस्य लक्ष्मण सुवेदी, कुँडहर आधारभूत विद्यालयका प्रधानाध्यापक नन्दकिशोर बराल, संघका उपाध्यक्ष सुनिता ज्ञवाली, सचिव सुशिल गोदार तथा विद्यार्थी सुप्रिया पौडेललगायतले बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0