पोखरा । गण्डकी प्रदेशमा बढ्दो सवारी चाप, सडक सुरक्षा चुनौती र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित गण्डकी प्रदेश ट्राफिक व्यवस्थापन सम्बन्धी प्रादेशिक समीक्षा गोष्ठी २०८३ पोखरामा सम्पन्न भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्कीको आयोजनामा सम्पन्न गोष्ठीमा गण्डकी प्रदेश सरकार र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले सहकार्य तथा समन्वय गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा पार्किङ व्यवस्थापन अहिलेको प्रमुख चुनौती बनेको बताएका छन्। विशेष गरी व्यस्त बजार क्षेत्रमा पर्याप्त पार्किङ स्थलको अभावका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको उनले उल्लेख गरे।मुख्यमन्त्री पाण्डेले पछिल्लो समय भारतीय पर्यटकहरू आफ्नै सवारी साधनमा पोखरा आउने क्रम बढेकाले ती सवारी साधनको व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताए। भारतबाट आउने चालकहरूलाई स्थानीय सडक, मार्ग र ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाको जोखिम बढ्ने गरेको उनको भनाइ थियो।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले प्रदेश सरकार सुरक्षित, व्यवस्थित र आधुनिक यातायात प्रणाली निर्माणमा प्रतिबद्ध रहेको बताएका छन्। उनले सवारी साधन र चालकहरूको नियमित परीक्षण, अनुगमन तथा सडक सुरक्षालाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट तर्जुमा गरिएको जानकारी दिए।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ट्राफिक व्यवस्थापनलाई नगरको प्रमुख प्राथमिकतामध्ये एक भएको बताए। महानगरपालिका र वडा कार्यालयहरूले ट्राफिक व्यवस्थापनमा निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै उनले महानगरमा यसका लागि छुट्टै शाखासमेत स्थापना गरिएको जानकारी दिए। सडकमा रहेका खाल्डाखुल्डी, अव्यवस्थित संरचना तथा पूर्वाधारका कारण दुर्घटना बढिरहेको उल्लेख गर्दै उनले अधिकांश सडक संघीय सरकार मातहत रहे पनि नागरिकको गुनासो भने महानगरले नै व्यहोर्नुपर्ने अवस्था रहेको बताए।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐन कुमार साइले विद्यार्थी सहुलियतको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थीहरूले विद्यालय वा कलेजको पोशाक लगाएर सार्वजनिक यातायात प्रयोग गर्नुपर्ने सुझाव दिए। सहुलियत उपलब्ध गराएबापत राज्यले व्यवसायीलाई आवश्यक सहयोग गर्नुपर्ने भए पनि हालसम्म पर्याप्त सहयोग प्राप्त हुन नसकेको उनको गुनासो थियो।
गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष गोर्कण कार्की,नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
गोष्ठीमा सहभागीहरूले बढ्दो सवारी चाप, पार्किङ अभाव, सडक पूर्वाधार सुधार, चालक सचेतना अभिवृद्धि तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। कार्यक्रममा प्रस्तुत सुझावहरूलाई आगामी नीति निर्माण तथा कार्यान्वयन प्रक्रियामा समेट्दै प्रदेशमा सुरक्षित र व्यवस्थित यातायात प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
















