पोखरा । पोखरामा मङ्गलबारदेखि उत्कृष्ट उद्यमका लागि नवप्रवर्तनशील उद्यमशीलता नेतृत्व तथा व्यवस्थापन कार्यशाला सुरु भएको छ । गण्डकी प्रदेशको पाँच स्थानीय तह हुप्सेकोट, म्याग्दे, सिरानचोक, जलजला र बडिगाड गाउँपालिका तथा दायित्व संस्थाको सहकार्यमा सो कार्यशाला सुरु भएको हो । वृद्धिमुखी तथा रोजगारी प्रवर्द्धन ‘जिइइपी’ कार्यक्रमअन्तर्गत आयोजित कार्यशालामा ५ स्थानीय तहबाट ५५ जना उद्यमीको सहभागिता रहेको छ । ग्रामीण उद्यमशीलता हस्तान्तरण, उत्पादन आधुनिकीकरण र रोजगारी सिर्जनालाई संस्थागत रुपमा अघि बढाउने उद्देश्यले सो कार्यशाला आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले प्रदेश र स्थानीय तहले उद्यमशीलता विकासका लागि विभिन्न समयमा तालिमहरू प्रदान गर्दै आएपनि त्यो प्रभावकारी हुन नसकेको बताए । वृद्धिमुखि तथा रोजगारी प्रवर्द्धन कार्यशालाले स्थानीय स्तरमा भएका कच्चा पदार्थहरूको पहिचानसँगै सम्भावनाको खोजी गरी स्वरोजगारसँगै रोजगारी सिर्जना गर्न सहयोग गर्ने उनको विश्वास छ ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डन्डुराज घिमिरेले यो कार्यक्रम उद्यमशील गण्डकीको लक्ष्य प्राप्तिका लागि एक बहुआयामिक र आशाजनक पहल भएको बताए । ५ पालिकाका यी ५५ उत्कृष्ट उद्यमहरू गण्डकी प्रदेशमा आर्थिक र सामाजिक परिवर्तनका वाहक भएको भन्दै यस कार्यक्रमले उद्यमीको सोच र नेतृत्व क्षमताको अभिवृद्धि गर्ने र यही नै दिगो विकासको जग भएको उल्लेख गरे ।
उद्योग तथा पर्यटन मन्त्रालयका सचिव मोतिराम सापकोटाले यो कार्यक्रम मन्त्रालयका लागि गौरवको योजना भएको बताए । ग्रामीण उद्यमहरूलाई स्वरोजगार मात्र नभई रोजगारी सिर्जनाको केन्द्र बनाउनु यसको उद्देश्य रहेको भन्दै उत्पादन मात्र नभई मूल्य शृङ्खलामा जोडेर स्थानीय स्तरमा आर्थिक योगदान गर्नु यसको विशेषता रहेको बताए । एक वर्ष अघि सुरु भएको यो यात्राले सफलताको झिल्को देखाएको उनको दावी छ ।
दायित्व अभियानका संस्थापक तथा अध्यक्ष, डा.पुकार मल्लले ५५ उत्कृष्ट उद्यमहरूले प्रविधि र नवप्रवर्तनको प्रयोग गरेर बजारमा जोडिने र कम्तिमा ५ रोजगारी सिर्जना गर्ने अठोट लिएको बताए । उद्यम यात्रा स्रोतको मात्र होइन सोचको पनि हो भन्दै दायित्व अभियान यो परिणामलाई अर्को चरणमा पुर्याउन र अन्य पालिकाहरूमा विस्तार गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।

कार्यशालामा दायित्वका अध्यक्ष डा पुकार मल्लले मुख्य प्रशिक्षकको भूमिकामा रहेर प्रशिक्षण दिइरहेका छन् । दायित्वका बरिष्ठ कार्यक्रम अधिकृत निखिल सङ्ग्रौलाले विगत एक वर्षदेखि गण्डकी प्रदेश सरकार र उद्योग तथा पर्यटन मन्त्रालय सँग सहकार्यमा वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम गर्दै आएको बताए । दायित्वले उद्यमीलाई थप दक्ष र रोजगारी सिर्जना गर्दै समाजप्रति योगदान दिनसक्ने बनाउन सहयोग गर्दै आएको बताए ।
यस्तै जिइइपी परियोजनाको गण्डकी प्रदेश संयोजक जुनतारा बुढामगरले गण्डकीका ५ पालिकाका ४० वटा वडाबाट आवेदन आह्वान गरिएकोमा र ती वडाहरूबाट प्राप्त ६ सय ६ वटा आवेदनबाट ५५ उत्कृष्ट उद्यम छनौट गरिएको जानकारी दिए । कार्यशाला ग्रामीण क्षेत्रमा दिगो रोजगारी सिर्जना, नेतृत्व क्षमता, स्थानीय उत्पादन प्रणाली सुदृढिकरण, प्रविधिमा आधारित नवप्रवर्तन लगायत विषयमा केन्द्रित हुने उनको भनाई छ ।
पर्यटन मन्त्रालय गण्डकीका सचिव मोतिराम सापकोटाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्वागत अशोक नेपालीले गरेका थिए भने उपसचिव महराज ढकालले सञ्चालन गरेका थिए ।
वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन (जिइइपी) कार्यक्रमको पहिलो चरणमा प्रविधि पूरक साझेदारी र प्रशिक्षणमार्फत उद्यमहरूको क्षमता विकास गरिएको छ। आगामी चरणमा उद्यमहरूले नवप्रवर्तन अनुदान, वित्तीय पहुँच, बजार जडान र लगानी तयारीको अवसर पाउनेछन्। बिहीबार सम्म चल्ने ३ दिने कार्यशाला त्यही उद्यम वृद्धि र स्तरोन्नति यात्राको एक महत्त्वपूर्ण पाइला हुने दावी गरिएको छ ।
















