पोखरा। यहीं फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की–१ मा एमालेले घरदैलो अभियान तीव्र पारेको छ । उम्मेद्वार बैनबहादुर अधिकारी क्षेत्रीसहितको टोलीले मंगलबार पोखरा–१३ का मतदातासँग भेटघाट गर्यो ।
अधिकारी आउने खबर पाएपछि आर्बाका २५ वर्षीय रवि बराल बिहानैदेखि उनको पर्खाइमा थिए । एमालेकै पहलमा गाउँमा पुगेको कालोपत्रे सडकमा उभिएर उनी उम्मेद्वारलाई स्वागत गर्न आतुर थिए । उनलाई सम्झना हुँदा गाउँ आउजाउ गर्ने सडक भर्खर बन्ने क्रममा थियो । अहिले आर्बासँगै पोखरा–१३ का डाँडाकाँडामा सबैजसो सडक कालोपत्रे भएको छ ।
पछिल्लो ८ वर्षको अन्तरालमा पूर्वाधार निर्माणमा आर्बाको मुहार फेरिएको छ । त्यसैले काम नै नभएको भाष्य निर्माण गर्ने प्रयास भएपनि आर्बाको हकमा त्यो गलत रहेको उनको भनाइ छ । ‘हाम्रो गाउँमा विकास भएन भन्ने गुनासो त सुन्नुपर्दैन । मन्दिर, खानेपानी वा सडक होस्, यहीँबाट जित्नुभएका सांसद्कै योजना र पहलमा यो सबै काम भएको हो,’ उनले सुनाए ।
एमालेले कास्की–१ मा काम नै नगरेको भन्न नमिल्ने र फेरि जिताउन मत दिने उनको भनाइ छ । २०७४ सालमा वडा, प्रदेश र प्रतिनिधिसभामा एमालेले जितेपछि नै पूर्वाधार विकासमा पोखरा–१३ ले फड्को मारेको उनी बताउँछन् ।
उम्मेद्वार अधिकारीले मंगलबार कसेरी, मणीदीप, मोहरपानी, काहुँखोला, कुँडहरसहित पोखरा–१३ का मतदातासँग भेटघाट गरे । उनी आर्बाको महाप्रभुधाममा पनि पुगेका थिए । अधिकारीले महाप्रभुधाममा पूर्वाधार विकास र धार्मिक पर्यटक आगमन वृद्धिमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । मतदाता भेटघाटका क्रममा उनले एमालेले गरेका काम जनताले बुझेको तर भ्रम छर्ने प्रयास हुने गरेको बताए । काहुँखोलाका वस्ती संरक्षण गर्न एमालेकै पहलमा तटबन्धन र वस्ती संरक्षणका लागि बजेट परेको उनले सुनाए ।
एमालेका उम्मेद्वार अधिकारीले बुधबार पोखरा–३२ का मतदातासँग भेटघाट गर्ने तालिका छ ।
















