पोखरा । पाहुना टोली उज्वेकिस्तानको आभा एफसी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेकाे छ । सहारा क्लबको आयोजनामा पोखरा रङ्गशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड विरुद्ध १-० को कठिन जित निकाल्दै आभा सेमिफाइनल पुगेको हो ।
मध्यान्तर अगाडि गोल रहित बराबरी रहेको खेलको ५६औँ मिनेटमा झण्डै ३५ यार्ड टाढाबाट उमिदजोन करिलोभले प्रहार गरेको बलले जाली चुमेपछि पाहुना टोलीले सेमिफाइनलमा जावलाखेलसँगको भेट पक्का गर्न सफल भयो । प्लानिङ ब्वाइजले खेलमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन।
अन्तिम समयसम्म दबाब दिए पनि एभिए एफसीको रक्षापङ्क्तिले उत्कृष्ट प्रदर्शन गर्दै कठिन जित निकाल्यो ।६० औं मिनेटमा पनि पाहुना टोलीले अर्को महत्वपूर्ण अवसरलाई गुमाउँदा अग्रता दोब्बर बनाउने प्रयास विफल बन्यो । बेकरुज सोमोनोभको प्रहारलाई प्लानिङका गोलकिपरले नियन्त्रणमा लिन सकेनन् । गोलकिपरबाट रिवाउण्ड भएको बललाई ६ यार्ड बक्सबाट सार्देविक मात्मुरातोभको प्रहार क्रसबारमाथिबाट बाहिरिन पुग्यो ।
त्यसो त प्लानिङ ब्वाइजको लागि इन्जुरी समयमा गोल गर्ने अवसरबाट टाढियो । बराबरी गोल गर्ने प्राप्त अवसरलाई चुकाउदा हार बेहोर्न बाध्य भयो । पेनाल्टी बक्स लाइन नजिकै पाएको फ्रिकिकलाई वैकल्पिक खेलाडीको रुमपा मैदान छिरेर कप्तान आर्मब्याण्ड लगाएका फागराम थारुले हानेको बललाई उज्वेकिस्तानी टोलीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलमा उमिडजोन करिलोभ प्लेयर अफ दि म्याच घोषित भए । प्लानिङ्गका प्रशिक्षक पङ्कज शाहीले आफना खेलाडीले राम्रो खेलको र पाएका अवसरको सदुपयोग हुन नसकेको बताए ।
आहा रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनल खेल आयोजक सहारा क्लबले मनाङ मर्स्याङ्दी क्लबसँग खेल्ने छ । यो खेल बुधबार दिउँसो ३ बजे सुरु हुनेछ ।
फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले १४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछ । अनुशासित टोलीलाई २५ हजारसहित ट्रफी प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई नगद २५ हजार जनही प्रदान गरिनेछ ।
















