राजाराम पौडेल/पोखरा । कलाकारिता क्षेत्रमा अगाडि बढ्न खोज्ने र स्थापित हुन रहर पालेका अधिकांशको गन्तव्य काठमाडौँ हुने गर्दछ । काठमाडौँमा गएपछि अवसर र सफलता दुवै मिल्छ भन्ने मान्यता रहिआएको छ । तर केही यस्ता कलाकारले प्रतिभा भए मोफसलमा रहेर पनि स्थापित हुन सकिन्छ भन्ने प्रमाणित गरिरहेका छन् । यसरी मोफसलमा रहेर अवसर र सफलता पाइरहेका कलाकार हुन् प्रकाश घिमिरे र माओत्से गुरुङ ।
उनीहरू दुवैजना आफ्नो जन्मथलो पोखरामा बसेर कर्म गरिरहेका छन् । उनीहरूले प्रतिभा भएको खण्डमा मोफसलमा नै बसेर अगाडि बढ्न सकिन्छ भन्ने मानक स्थापित गरेका छन् । दुवैजनाले कलाकार बन्नको लागि राजधानी जानुपर्छ भन्ने सपना पालेनन् । पोखरामा नै बसेरै मूलधारका फिल्ममा उपस्थिति जनाइरहेका छन् ।
को हुन् त प्रकाश
प्रकाश घिमिरेको जन्म पोखरा ३ नदीपुरमा भएको हो । उनमा सानैदेखि समाजसेवातर्फ बढी रुचि थियो । २०३९ मा सूर्योदय युवा क्लब स्थापना भयो । उनी अध्यक्ष बने । साहित्य, खेलकुदमा रुचि भएका व्यक्ति त्यसमा आवद्ध थिए । नाटक, कविता, खेलकुद क्षेत्रका कार्यक्रम क्लब मार्फत गर्न थाले । एकाङ्की नाटक देखाइन्थ्यो । रङ्गकर्मी अनुप बराल समेत क्लबमा थिए । अनुपको रुचि नाटकमा थियो । मार्सल आर्ट समेत गर्थे । अनुपकै डिमान्ड पुरा गर्न समेत नाटक देखाउन थालियो ।
प्रकाशका बुबा तेजनाथ घिमिरेले नाटक लेख्थे । आर्मीको लागि भृकुटी नाटक लेखे । त्यो नाटक प्रकाशले पढ्दा मन छोयो । नाटक गज्जब हुँदो रहेछ भन्ने उनलाई लाग्यो । त्यसले नाट्य क्षेत्रमा अगाडि बढ्न बल पुग्यो । त्यतिबेला उनले हिमसन्देश गृहमा पत्रिका बेच्ने गर्थे । बचेको समय अध्ययन गर्थे । पछि स्कुलबाट शिक्षकको लागि प्रस्ताव आयो । अनि व्यवसाय छाडेर शिक्षण पेशामा लागे । तर कलाकारिता र समाजसेवालाई निरन्तरता दिइरहे ।
२०४२ सालमा दीपक पराजुलीको लेखन, अनुप बरालको मुख्य भूमिका प्रकाश घिमिरेको अभिनय तथा निर्देशनमा नाटक मञ्चन भयो । पूर्णाङ्की नाटक ‘जब इज्जत सल्किन्छ’ डाँफे कला मन्दिर मा सात पटक देखाइयो । पहिलो नाटकबाट दर्शकको माया प्राप्त गरेकोमा उनीहरू जोसिए । नाटकमा सुक गुरुङको सङ्गीत थियो । यही नाटकबाट साहित्यकार सरुभक्त श्रेष्ठसँग चिनजान भयो । अनि श्रेष्ठकै निर्देशनमा उनीहरूले दुई नाटक मञ्चन गरे । पछि अनुप बराल तथा दीपक पराजुलीको निर्देशनमा समेत नाटक देखाइयो । अनुप नाटक पढ्न बाहिर गएपछि भने नाट्य गतिविधिमा केही कमी आयो ।
उनले धेरै सरुभक्तका नाटकमा अभिनय गरेका छन् । ताण्डव नृत्य तथा अजम्बरी भ्वाइलेन, न्यायप्रेमी, आस्थामा उठेका हातहरु, क्रिया नाम सर्वनाम विशेषण, काफ्का, थाङ्गला, जात सोध्नु जोगीको, सिरुमारानी, निरमाया, अटलबहादुरको आतंक आदी गरी ३० वटा जती नाटकमा उनले अभिनय गरिसकेका छन् । २०६२ मा दलन टेलिसिरियलमा उनले अवसर प्राप्त गरे । आहुतीले लेखेको नविन सुब्बाले निर्देशन गरेको यो टेलिसिरियल मार्फत ‘धम्बरे’ क्यारेक्टर मार्फत उनी चिनिए ।
माओत्सेको नजरमा प्रकाश
सन् १९९४ मा आयोजित जेसिज सप्ताह अन्तर्गत अभिनय प्रतियोगितामा प्रकाश दाइ निर्णायक म प्रतियोगी थियौ । हाम्रो पहिलो भेट यहीं भएको हो । मेरो करियरलाई अगाडि बढाउन प्रकाश दाइको महत्वपूर्ण भूमिका छ । मलाई दाइ बाहिर तिर हिड्दा साथी जस्तो लाग्छ । नाटक र फिल्मको कुराहरु आउँदा गुरु जस्तो लाग्छ । मेरो अभिभावक जस्तो लाग्छ ।
उहाँको भूमिका फरक छ । साथीको व्यवहारले कुनै कुरा पनि नलुकाउने खुलस्त गर्ने बानी छ । उहाँसँगको बसाईमा इन्जोय गरिन्छ । अभिनय र नाटकतिरको कुरा आउँदा मेरो लागि अभिभावक जस्तो लाग्छ । किनकी धेरै कुरा सिक्न पाइन्छ । मान्छे एकदमै फरासिलो हुनुहुन्छ । जीवन जीउने शैली समेत अनुकरणीय छ । एकदमै साधारण शैलीमा जीवन जीउनु हुन्छ । हाइफाइ गर्ने बानी छैन । मानिस हेर्दा साधारण तर असाधारण खुबी भएको मानिस जस्तो लाग्छ ।
आफुसँग खुबी छ क्षमता छ भने त्यो क्षमताको लागि केन्द्र धाइराख्नुपर्ने मोफसल छोड्नुपर्ने भन्ने अवस्था सिर्जना हुँदैन भन्ने उदाहरण प्रकाश दाइ हो । जो व्यक्तिसँग निहित खुबी छ त्यो व्यक्ति खुबीको कारणले गर्दा चम्कने हो । हजारौंको भिडमा गएर आफुसँग खुबी छैन भने हराइन्छ । प्रकाश दाइले पोखरा बसेर जुन कार्य गर्नुभएको छ हामीलाई अभिभावकत्व प्रदान गर्नुभएको छ । नाटकमा सिनेमामा गरेको योगदान अब आउने पिढिहरुको लागि प्रेरणादायी बाटो हो । त्यो बाटोलाई हामीले सेलुट गर्नुपर्छ ।
लामो समय शिक्षकको रुपमा पढाउनुभयो । यसरी पढाउदा पनि कलाकारिता क्षेत्रलाई छोड्नुभएन । यो त एकदमै अनुकरणीय पाटो हो । क्षमता भएको मान्छे सबै केन्द्र जानुपर्छ भन्ने खालको मान्यतालाई चिरेर यहाँ बस्नु भएको छ । यो एकदम उदारणीय कार्य हो । मैले पनि नाटक सिनेमामा सहकार्य गरिरहेको छु । उहाँले र मैले दलन सिरियलमा काम गर्यौ । सर्ट मुभी मलामीमा काम गर्यौ । साइली, अग्नीदहन फिल्ममा एकसाथ काम गर्यौ । हामी निरन्तर जोडिरेहका छौ । केही नाटकमा काम गर्यौ । उहाँसँग काम गर्दा साह्रै मज्जा आउँछ ।
को हुन् त माओत्से
कास्कीको स्याक्लुङमा जन्मिएका माओत्सेकोे २०४७ मा ‘पञ्च’ नाटकमा अभिनय गरेर रंगमञ्चमा आगमन भएको हो । त्यस लगत्तै परित्याग, हारेका मान्छेहरु, क्रिया याने नाम सर्वनाम विशेषण, भिक्षाम देहि, मलामी, सिरुमारानी, अटलबहादुरको आतंक लगायतका डेढ दर्जन नाटक मार्फत उनी रंगमञ्चमा देखिए । दिर्घजिवी नाटक समुहमा आवद्ध रहेर नाटक मञ्चन गर्न शुरु गरेका गुरुङको यो क्षेत्रमा लोकप्रियता बढाउन प्रतिबिम्ब नाट्य समुहको साथ उलेख्य रहेको छ ।
नाटक बाट अगाडि बढेको उनको यात्रा वि.स.२०५१ सालमा पोखराबाट निर्माण गरिएको चलचित्र ‘काडाँ’ बाट चलचित्रको क्षेत्रमा पनि भयो । अचम्मै भो, पैतिस दिन, मलामी, यो कस्तो कथा, कबडी कबडी, पुरानो डुङ्गा, दोष, अग्निदहन, मिस्टर झोले लगायतका चलचित्रमा उनले अभिनय गरिसकेका छन् । उनले भारतीय फिल्म ‘थिरीमाली’मा पनि काम गरे ।गुरुङ चलचित्र रि च्हमी, ध्रि धीब्रै व्यथा आङी, कृपा, पाते २, मले क्यु लगायतमा समेत उनले अभिनय गरे ।
गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का संस्थापक अध्यक्ष समेत रहेका उनले फिल्मको लागि कथा समेत आफै लेख्छन् । २०६२ मा अचम्मै भो चलचित्रबाट चलचित्र निर्देशन शुरु गरेका उनले एक दर्जन चलचित्र निर्देशन गरिसकेका छन् । टुक्रिएको सपना, दलन टेलीसिरीयल मार्फत देखिएका उनले कणर्दासको पुरानो डुङा र मान्छे नै हो गरीब, ब्रोसीस समुहको यति राम्रो, रामचन्द्र काफ्लेको गोठमा हेर्यो भैसी छ, लगायतका म्युजिक भिडीयोमा समेत अभिनय गरिसकेका छन् ।
प्रकाशको नजरमा माओत्से
माओत्से गुरुङ भर्सस्टायल कलाकार हुनुहुन्छ । हाम्रो पहिलो भेट जेसिजले पोखरा प्रतिभा प्रस्फुटन गराउने कार्यक्रम गरेको थियो । गायन, नृत्य र अभिनयको प्रतिष्पर्धा थियो । रुपेन बाबु, चन्दा थापा र म निर्णायक थियौँ । सो प्रतिष्पर्धामा अभिनय तर्फ माओत्से गुरुङले भाग लिनुभएको थियो । उहाँ अभिनयमा उत्कृष्ट समेत हुनुभयो । अभिनयबाट प्रभावित भएर नाटकमा अवसर समेत दियौं । हामीले नाटक गर्दै थियौं । कलाकार चाहिएको बेला उहाँकोे बारेमा अनुप बराललाई भने । मैले भने एकजना भाइ छ, एकदम राम्रो अभिनय गर्ने भनेर भनेपछि अनुप मानिहाले । अनि हाम्रो नाट्य यात्रा सँगै सुरु भयो ।
स्क्रिप्ट लेख्नेदेखि निर्देशन गर्ने, अभिनय गर्ने सबै खुबी उहाँमा छ । पहिला गुरुङ फिल्ममा सिमित हुनुभयो । मैले गुरुङ फिल्म भन्दा बाहिर आउन पर्यो भनेर धेरैं अनुरोध गरें । गुरुङ फिल्म त अरुले गरिहाल्छन् । मेन स्ट्रिमको फिल्ममा आउनुपर्छ है भनेर भन्ने गर्थे । पछि मान्नुभयो । पुरानो डुङ्गा फिल्म बन्यो । त्यतिबेला म निकै खुशी भए । उहाँको कामको म प्रशंसक हुँ ।
उहाँबाट धेरै काम अझै पोखराले प्राप्त गर्छ र यो क्षेत्रमा धेरै गर्नुहुन्छ भन्ने मलाई आशा र विश्वास छ । स्थापित हुनको लागि काठमाडौँ जानुपर्छ भन्ने लाग्दैन । यसको उदाहरण उहाँलाई हेर्दा हुन्छ । परिचित भैसकेपछि मानिसले खोज्दै आउने हो । यहाँ बस्दाखेरी पनि त्यस्तै हो । हुनत बाहिर गएर बस्दाखेरी फिल्ममा काम बढी त गरिन्थ्यो होला । काठमाण्डौमानै बसेको भए अवसरहरु धेरै आउने थिए होला । तर, यहाँ बसेर पनि केही फरक परेको छैन । आफै फिल्म बनाउनुहुन्छ । आफै खेल्नुहुन्छ । अन्य फिल्मको लागि समेत पोखरामा आएर अनुबन्ध गर्छन् ।
म पनि पोखरा छोडेर बाहिर गएर बसेको छैन । चाहिने भयो भने यहीं आएर हामीलाई सम्झौता गराउँछन् । लिएर जान्छन् । यस्ले यती गर्छ भन्ने कुरा देखिसकेको छ । यो-यो कलाकार पोखरामा छन् । उनीहरुको अभिनय क्षमता यति हो भन्ने सबैलाई थाहा छ । नभइ नहुने भयो भने खोजेर यहीं आउँछन् । काठमाडौँ भएको भए धेरै काम गरिन्थ्यो होला तर जे पायो त्यही काम गरिन्थ्यो होला ।
भेट हुँदा हामीहरुको बिचमा मिठो गफ हुन्छ । फिल्म सम्बन्धी बढी विचार विर्मश गर्छौ । उहाँसँग बस्दा रमाइलो हुन्छ । परिवारसँग बसेको फिल हुन्छ । उहाँले निर्देशन गरेको भिडियोमा समेत अभिनय गरेको छुँ ।