पोखरा । २१ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा पोखरामा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न दलित तथा सामाजिक संघ–संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा जातीय विभेद अन्त्यका लागि भएका उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीले आन्दोलनले निरन्तर सफलता हासिल गरिरहेको भए पनि लक्ष्य प्राप्तिका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्। उनले विगतको तुलनामा समाजमा व्यवहारतः परिवर्तन आएको स्वीकार गर्दै विभेदरहित समाज निर्माणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले राज्यले जातीय विभेद निर्मूल गर्न विभिन्न नीति, नियम तथा कानुनी व्यवस्था निर्माण गर्दै प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे। विगतमा भएका विभेदप्रति राज्यले आत्मसमीक्षा र पश्चाताप व्यक्त गरिसकेको भन्दै संविधानमा समान अधिकार सुनिश्चित गरिएको र त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुनसमेत निर्माण भएको बताए। मन्त्री नेपालीले गण्डकी प्रदेशमा दलित सम्बन्धी ऐन निर्माण भइसकेको र त्यसको नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ कास्की, दलित महिला सङ्घ कास्की फेडो, परियार सेवा समाज कास्की, विश्वकर्मा समाज नेपाल, मिजार समाज कास्की, गन्धर्व समाज कास्की, नेपाल परियार समाज कास्की, विश्वकर्मा समाज कास्की स्याङ्जा–पर्वत, विश्वकर्मा सेवा समाज कास्की, सहिद थमन परियार स्मृति प्रतिष्ठान नेपाल, गण्डकी मिजार समाज, धौलागिरी कास्की दलित सम्पर्क समाज कास्की तथा सगुन परियार सेवा समाज कास्कीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको समन्वय संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति कास्कीले गरेको थियो।
कार्यक्रममा बोल्दै संयोजक प्रेमदेवी परियारले जातीय भेदभाव तथा छुवाछुतका घटनामा सम्बन्धित निकाय र समाजबाट गम्भीरतापूर्वक व्यवहार नहुने गरेको अनुभव सुनाइन्। कतिपय घटनालाई सामान्य भन्दै मिलापत्र गराउने प्रयास हुने गरेको उल्लेख गर्दै उनले यस्ता प्रवृत्तिले पीडितलाई न्यायबाट वञ्चित गर्ने बताइन्। दिवसको महत्वलाई थप स्थापित गर्न सरकारले सार्वजनिक बिदा घोषणा गर्नुपर्ने मागसमेत उनले गरिन्।
सल्लाहकार प्रेमबहादुर विकले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको ऐतिहासिक र सामाजिक महत्व विशेष रहेको बताए । दिवसको प्रभावकारिता, उपलब्धि तथा चुनौतीका विषयमा बहस र समीक्षा आवश्यक भएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।
मनबहादुर लामगादेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वप कास्कीका सभापति यदुनाथ अधिकारी लगायत विभिन्न राजनीतिक दल, सामाजिक अभियन्ता तथा सरोकारवाला व्यक्तिहरूले आ–आफ्ना धारणा राखेका थिए। वक्ताहरूले कानुनी तथा नीतिगत प्रगतिका बाबजुद समाजमा अझै पनि विभेदका घटना पूर्ण रूपमा अन्त्य हुन नसकेको उल्लेख गर्दै चेतना अभिवृद्धि, कानुनको प्रभावकारी कार्यान्वयन तथा सामाजिक एकताको आवश्यकता औँल्याएका थिए।
कार्यक्रमको अवसरमा जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। सम्मानित व्यक्तिहरूको योगदानले सामाजिक न्याय, समानता र मानव अधिकारको अभियानलाई थप सशक्त बनाएको आयोजकहरूको भनाइ थियो। दिवसको अवसरमा आयोजित कार्यक्रमले जातीय भेदभाव तथा छुवाछुत विरुद्धको आन्दोलनलाई थप बल प्रदान गर्नुका साथै समानतामूलक र विभेदरहित समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको सहभागीहरूले बताएका छन्।















