काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आफ्नो स्वास्थ्य पूर्ण रूपमा सुधार भएको बताउँदै अब सक्रिय रूपमा पार्टी र जनताबीच रहने घोषणा गरेका छन् । पार्टीको संगठन विभागद्वारा आयोजित दुई दिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ कार्यशाला उद्घाटन गर्दै अध्यक्ष ओलीले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारे । उनले पार्टीलाई सफलताको मार्गमा अघि बढाएर मात्र विधिसम्मत रूपमा विश्राम लिने बताएका छन् ।

अध्यक्ष ओलीले अनुकूल अवस्थामा उत्साहित हुने तर प्रतिकूल परिस्थितिमा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्दै पार्टीभित्र मजबुत एकताको आवश्यकता औँल्याए “शिर काटेर टेबलमा राखिदिए पार्टी सुध्रिन्छ भन्ने मानसिकता पार्टी हितमा छैन,” भन्दै उनले नेतृत्वविरुद्ध लक्षित अभिव्यक्तिले संगठनलाई कमजोर बनाउने चेतावनी दिए ।

उनले एमाले ३६ वर्षदेखि जनताको बहुदलीय जनवादको सिद्धान्तमा एकताबद्ध रहेको स्मरण गराउँदै सबै नेता–कार्यकर्ताले त्यही मार्गदर्शनअनुसार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । पछिल्लो समय पार्टीभित्र समीक्षा हुनुअघि नै भ्रम फैलाउने, हस्ताक्षर अभियान चलाउने र पार्टीविरुद्ध बोल्ने प्रवृत्ति बढेको भन्दै ओलीले त्यसले संगठनात्मक एकतालाई कमजोर बनाउने बताए।

संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति पनि अध्यक्ष ओलीले कडा असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिलाई उनले “असत्य, झुट र राष्ट्रघाती” भन्दै अस्वीकार गरे । नेपालले भारतको एक इन्च भूमि पनि नमिचेको दाबी गर्दै यस्तो अभिव्यक्ति राष्ट्रिय हितविपरीत भएको उनको भनाइ थियो।

त्यसैगरी, सीमा समस्याको समाधानका लागि तेस्रो मुलुकलाई संलग्न गराउने प्रस्तावप्रति पनि ओलीले आपत्ति जनाउँदै त्यसलाई अदूरदर्शी र अकूटनीतिक कदमको संज्ञा दिए । नेपालको परराष्ट्र नीति र राष्ट्रिय हित कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै स्थापित नीतिलाई मनपरी ढंगले परिवर्तन गर्न नहुने उनको तर्क थियो।

सभामुखको भूमिकाप्रति समेत प्रश्न उठाउँदै ओलीले राष्ट्रियताको पक्षमा आवाज उठाउने सांसदमाथि कारबाहीको तयारी गरिनु उचित नभएको बताए। एमालेका सांसदहरूले राष्ट्रियता, लोकतन्त्र र सुशासनका पक्षमा आवाज उठाइरहेको दाबी गर्दै उनले आफ्ना सांसदहरूको बचाउ गरे।

कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक दल र नागरिकबीचको सम्बन्ध नङ र मासुको जस्तो घनिष्ठ हुनुपर्ने धारणा व्यक्त गर्दै पार्टीलाई थप सशक्त र एकताबद्ध बनाउन सबै नेता–कार्यकर्तालाई आह्वान समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0