पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ भक्तजनको आशीर्वादले ऐतिहासिक बनेको छ। महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति वेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन ।
कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ भेषमा पण्डालमा आउने भएकी छन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले भोलि गुरुङ पहिरनमा रहेर कथा वाचन गर्ने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगिता पनि समापन भएको प्रतियोगिता संयोजक प्रजापति पराजुलीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको नतिजा घोषणा जेठ २४ गते हुने छ । कार्यक्रममा राष्ट्रिय भजन प्रतियोगिताका संयोजक प्रजापति पराजुली तथा निर्णायकहरू पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेललाई सम्मान गरिएको थियो । कार्यक्रममा चर्चित लोक दोहोरी गायक विमल राज क्षेत्रीले भजन प्रस्तुत गरेका थिए ।
कोटिहोममा आयोजित नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आज पुरस्कार वितरण गरिएको छ ।
प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै नगद ५१ हजार एक सय ५१ र सम्मान पत्र प्राप्त गरे । यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै नगद ४१ हजार एक सय ४१ र सम्मान पत्र, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै नगद ३१ हजार एक सय ३१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।
यसै गरी कुस्मा पर्वतस्थित नमुना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रितिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै नगद २१ हजार एक सय २१ रुपैयाँ र सम्मान पत्र प्राप्त गरे ।
प्रतियोगितामा चार जना प्रतियोगितालाई उत्प्रेरण स्वरूप पुरस्कार प्रदान गरिएको थियो । यसरी उत्प्रेरण पुरस्कार पाउनेमा बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङ रहेका छन् । उनीहरुले जनही १० हजार र सम्मान पत्र प्रदान गरिएको छ । पुरस्कृत विद्यार्थीलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् ।
