पोखरा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा मौलिक लोपोन्मुख बाजाहरूको प्रदर्शन एवं प्रस्तुती कार्यक्रम आयोजना भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा आयोजना भएको कार्यक्रममा अलिमिया लोक वाङ्मय प्रतिष्ठानले सहकार्य गरेको थियो ।

गण्डकी प्रदेश सभाको उपसभामुख विनाकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले भिन्न जाती र समुदायको भिन्न भाषा, संस्कार, संस्कृति र गीतसङ्गीत हुने बताउँदै सबैको आआफ्नै मौलिक विशेषता हुने बताइन् । उनले विभिन्न जातीय समुदायको मौलिक नेपालीपन झल्कने गीत सङ्गीतलाई उजागर गर्ने काम प्रज्ञा प्रतिष्ठानले गरेको भन्दै प्रशंसा गरिन् ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति गोरे गुरुङले नेपाली मौलिक बाजाहरूको धुनलाई लिपिबद्ध गरेर नयाँ पुस्ताका लागि संरक्षित गर्नुपर्ने बताए । कतिपय मौलिक बाजाको धुन, सुर र सरगम लोप भैसकेको बताउँदै उनले बाँकी रहेका धुनहरू लिपिबद्ध नगरे हराएर जाने प्रति चिन्ता व्यक्त गरे ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख कर्ण विद्रोही गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, रक्तिम सांस्कृतिक परिवारका महासचिव हेमराज आश्रम, समाजसेवी राजु क्षेत्री लगायतले बोलेको कार्यक्रम पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा बागलुङ ताराखोला गाउँपालिकाबाट याम बहादुर घर्तीमगरको संयोजकत्वको समुह, म्याग्दी गुर्जाको झकबहादुर छन्त्यालको संयोजकत्वको मौरी बाजाको समुह, म्याग्दीकै रामकला रसाइलीको पात बजाउने कला, तनहुँबाट सोम बहादुर दरैबाट बाँसी र डम्फुको प्रस्तुती, गोर्खाबाट जनक चेपाङ र हर्क चेपाङको डम्फु बाजाको प्रस्तुती, झलकमान गन्धर्व सारङ्गी पाठशालाबाट लोक धुन, पञ्चेबाजा, सारङ्गी, तरेली साँगीतिक परिवारको तरबार नृत्य र  पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकालबाट कौरा गीत प्रस्तुत भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0