पोखरा । पोखरामा चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि हुने भएको छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएको पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराइएको हो ।
३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडा स्तरीय इभेन्टमा हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भूगोल गुरुङले बताए । जेठ २४ गतेसम्म फिट नेपाल स्पोर्ट्स प्लेक्सको ब्याडमिन्टन कोर्टमा हुने उक्त प्रतियोगिता अन्तरगत यू—११ एकल छात्र तथा छात्रा तर्फ, यू—१५ र यू—१९ गरी ४ वटा इभेन्टमा एकल छात्र तथा छात्रा तर्फ प्रतिष्पर्धा हुने भएको भएको छ ।
प्रतियोगितामा यू—१५ र यू—१९ का विजेता खेलाडीलाई जनही ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने खेलाडीलाई भने १० हजार पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । पोखरा महानगर वडा स्तरीय (डवल) प्रतिष्पर्धामा विजेता हुने, उपविजेता र तेश्रो हुनेलाई क्रमशः ३०, हजार , २० हजार र १० हजार प्रदान गरिने भएको हो । यू—११ तर्फका बिजेताहरूलाई भने आकर्षण पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगितामा पोखरा सहित काठमाण्डौ, चितवन, कपिलवस्तु, भोजपुर लगायतका स्थानबाट करिब १ सय ५० भन्दा बढी खेलाडीहरू सहभागि हुने भएको प्रतियोगिताका संयोजक मधु गिरीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । बुधबार हुने उद्घाटन खेलमा भने मार्च पास समेत हुने तयारी गरिएको फाउण्डेसनका सचिव बरदान लामाले बताए ।
तल्लो स्तरबाटै ब्याडमिन्टन खेलको विकास गराउने उद्देश्यले फाउण्डेसनले विगत ४ वर्ष देखि निरन्तर रुपमा उक्त प्रतियोगितालाई निरन्तर रुपमा आयोजना गर्दै आएको संस्थापक अध्यक्ष गुरुङले जनाए ।
ओलम्पियन एवं ब्याडमिन्टनका नम्बर वान खेलाडी प्रिन्स दाहालले नेपालमा ब्याडमिन्टन खेलको धेरै सम्भावना भएको दाबी गर्दै नियमित रुपमा प्रतियोगिता र प्रशिक्षण गरे नेपालले यस खेलबाट पदक ल्याउन सक्ने बताए । पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक पुनम गुरुङले पोखरामा तल्लो तहबाट खेलाडी उत्पादन गर्ने अभियानमा आफूहरू लागेको बताइन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सरकारले पछिल्लो समयमा खेलकुदको महत्व बुझेर यस वर्ष दोब्बरले बजेट आउनु खुसीको कुरा भएको बताए ।
