पोखरा । पोखराको ३ नदीपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा पाचौँ माउन्ट अन्नपूर्ण एसइइ बास्केटबल प्रतियोगिता बिहीबारबाट शुरु भएको छ । उद्घाटनको दिन ७ खेल सम्पन्न भएको खेल संयोजक अशोक कुमार शाहीले बताए।
जस अन्तर्गत विजेता हुने टिमहरूमा घान्द्रुक, जेपिटि,गलेश्वर निलो, त्रिसा शक्ति समाज, वियुजि, टीजी ब्रर्दर र मर्दीखोला बिजयी भएको संयोजक शाहीले जनाए ।
उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवन रेग्मीले विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले खेलकुदको माध्यमबाट विद्यार्थीलाई अनुशासित र स्वस्थ हुने वातावरण सृजना हुने हुँदा खेलकुदको महत्व भएको उल्लेख गरे ।
विद्यालयका अतिरिक्त कार्यक्रम निर्देशक तेज बहादुर गुरुङले विद्यालय गण्डकी प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित भएको बताए । उनले एसइइ दिएर बसेका विद्यार्थीहरूको फुर्सदको समयलाई रचनात्मक कार्यमा सदुपयोग गर्ने उद्देश्यले खेलकुदको कार्यक्रम आयोजना गरिएको जनाए ।
प्रिन्सिपल सइन्द्रराज श्रेष्ठले बिद्यालयले पठनपाठन सगैँ खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा सँधै जोड दिदैँ यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष चिज काजी गुरुङ, प्रोमोटर झम गुरुङ, समाजसेवी भूपालजङ कुवँर, नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष जुम गुरुङ लगायत वडा ३ मा रहेका बिभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कुल २० टिमको सहभागिता रहेको प्रतियोगिता १७ गते सम्म सञ्चालन हुनेछ ।
