पोखरा । बरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका कविता सङ्ग्रह बिहीबार पोखरामा लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा भिमसेनटोलस्थित नेवा छें मा आयोजना गरिएको समारोहमा सरुभक्तको ‘सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरू’ र तीर्थ श्रेष्ठको ‘हिउँमा लेखिएका नामहरू’ लोकार्पण गरिएको हो । दुबै कविता सङ्ग्रहको बरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन, वरिष्ठ गायिका हरिदेवी कोइराला, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, परिवारका कार्यबाहक अध्यक्ष लक्ष्मण थापा, साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठ तथा प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले लोकार्पण गरेका हुन् ।
कार्यक्रमका वरिष्ठ कार्टुनिस्ट बरालले ५० वर्ष अघिका कुरा सुनाए । मेरो चिनजान पनि थिएन । हामीहरू मोहरियाटोलस्थित साहित्यकार विजय बजिमयको घरमा जम्मा भयौं र साहित्यिक जमघटका कुराहरू गर्यौ । त्यही भेटघाटबाट पोखरेली युवा सांस्कृतिक परिवारको जन्मको सुरुवात भएको थियो । जमघट बढ्न थाल्यो र कार्यक्रमहरू पनि हुन थाले तर कहिले कतै भाडा तिरेर र कहिले होटलमा गएर कार्यक्रम गर्न थाल्यौ । त्यो सानो पहलबाट सुरु भएको पोयुसाप अहिले देशकै लोभ लाग्दो संस्थाको रुपमा दर्ज भएको देख्दा खुसी लाग्छ । त्यो बेलामा दौँतरीहरू दुबै साहित्यकारको सङ्गत अहिलेसम्मै पनि निरन्तर भइरहनु अर्को चमत्कार जस्तै लागेको छ ।
पोखराको कला, साहित्य, संस्कृति र विविध आयामसँग जोडिएका हस्तिहरुको योगदान अतुलनीय रहेको उनले बताए । वरिष्ठ गायिका हरिदेवी कोइरालाले दुबै श्रष्टाहरूले सिर्जनामा हरेक पक्षलाई समेट्ने गरेको, हरेक भूभागलाई छुने गरेकोले पोखरालाई बनाउन उनीहरूको महत्वपूर्ण सेतुको रुपमा रहेको बताइन् । उनले भनिन् ‘रह्यो कुरा दौतरीको । अनिष्टता र मित्रताको रङ्गको वर्णन गरेर सकिन्न ।’
कवि तीर्थ श्रेष्ठले आफ्नो बारेमा र आफ्ना मान्छेका बारेमा बोल्नु भनेको निकै गाह्रो र कठिन कुरा भएको बताए । मलाई पहाड जस्तै लाग्छ । अजङ्गको पहाड । त्यहाँ हरेक चिजबिजहरू हुन्छन् कसरी बयान गर्नु होइन ? सरुभक्त र म बालसखा हौँ र अहिलेसम्मै साहित्यिक यात्रामा सँगै रहेका छौँ । उनले सो अवसरमा पोयुसाप खोल्दादेखिका कुरा, नाटक गर्दाको बेलामा दुर्गा बरालले गरेको मेकअपका कुरा, अर्जुन नेपालीले नाटकमा लाईभ भोईलिन बजाएका कुरा सुनाए ।
म सङ्गतले सच्चिएको मान्छे हुँ किनभने मैले महान साथीहरुको सङ्गत पाएँ श्रेष्ठले भने । उनले भने, अशोक पालिखे, दुर्गा वराल, हरिदेवी अनि सरुभक्त त मेरो पुस्ताको महाकवि नै हुन् मैले भन्ने गरेको छु । नेपालीले सबैभन्दा पहिले स्वीट्जरल्याण्डको हिमाल चढेको थिए । त्यहाँको सरकारले त्यो हिमालको ना नै गुर्खाज पिक भनेर राख्यो । सरुभक्त के कम उनलेचुली उपन्यास सोहि कथालाई आधार बनाएर पहिलो पटक पस्किए । कार्यक्रममा श्रेष्ठले सरुभक्तको चट्टान कविता र आफ्नो एकदिन शिर्षकको कविता सुनाए ।
सर्वहारा धरतीभरि यज्ञका काला घोडाहरुका सर्जक सरुभक्तले आफ्नो लिखित वक्तव्य दिदैँ भने म जति लेखन कार्यमा लाग्छु त्यति त्यति अक्षर र शव्दहरुको हत्या हुन्छ । साहित्यको ५० वर्षको यात्रामा लेखेरै पो बाँचियो । यो तृष्णाले हो । हामी तृष्णाको साहित्यमा हुन्थेनौ भने यहाँसम्मा आउन सकिन्नथ्यो । उनले भने ।
अर्को कुरा चमत्कारिक सृष्टिका मानिसहरु हौँ । सोचौं त हरेक कुराहरुमा चमत्कार छ । टुंगो लागेकै हुन्न र त्यो रहस्यको गहिराईमा भइरहनु चमत्कार नै हो । यसले झन् तृष्णा जगाईरहेको हुन्छ । सो अवसरमा श्रेष्ठले तीर्थ श्रेष्ठसंगको ३० को दशकदेखिको सहयात्रा कायम रहेको र रहिरहने सरुभक्तले बताए । उनले भने, तीर्थ तरलवादको एउटा अभियन्ता नै हो । ४० दशकमा तरलतावादले एउटा उचाई लिएको सन्दर्भ सुनाउदै उनले उनका कवितामा बहुआयामिक कला र भाव, मुक्त विश्वास र भावको सम्पूर्णता पाईने बताए । सो अवसरमा उनले तीर्थको हिउमा लेखिएका नामहरू र आफ्नो आमा कविता सुनाएका थिए ।
पोयुसापका कावा अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव एमडि काफ्लेले सञ्चालन गरेका थिए । कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का लगायतले पनि बोलेका थिए ।
