पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ ।
देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्ष भेट्ने गरेका छन् । कोटिहोममा जव देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउने खालको छ ।
सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।
भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठ बाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।
कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी, पोखरावाला वोल दो न भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।
उनीसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि जेठ २६ गतेसम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।
बौद्धिक अनुष्ठान फाउन्डेसन, काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्न आचार्य, शिव दत्त रेग्मी , प्रिया दासी लगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।
आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा आज ३१ जना प्रतियोगीले आफ्ना भनाई राखेका थिए ।
प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
