पोखरा । पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पाताले छाँगोमा पुग्ने पर्यटकको सङ्ख्या घट्न थालेको छ । त्यहाँ व्यापार गरेर बस्ने व्यवसायीका अनुसार पोखरा महानगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुन थालेपछी बढेको शुल्क, व्यवस्थापनमा भएका कमजोरी र छाँगो तर्फको आकर्षण बढाउने संरचना हुँदा यहाँ पुग्ने पर्यटक गुप्तेश्वर गुफा तर्फ डाइभर्ट हुन थालेका छन् । भारतीय पर्यटकहरू पहिला सिधै पाताले छाँगो आउने गरेकोमा अहिले सिधै गुफातर्फ जाने गरेको पातले छाँगोमा व्यवसाय गर्दै आएका नवराज सुवेदीले बताए । महानगरले स्वामित्वमा लिएपनि भारु नचल्ने र नेपाली रुपैयाँमा समेत शुल्क बढेपछि प्याकेजमा आएका पर्यटकहरू डाइभर्ट भएको उनको भनाई छ । छाँगोमा सौन्दर्यकरणको आवश्यकता महसुस गरिएको व्यवसायी सुवेदीले बताए ।
पाताले छाँगो घुम्न आएकी सृष्टि जिसीले पाताले छाँगोमा जति पर्यटक आउनुपर्ने हो त्यति मात्रामा नदेखिएको बताइन् । महानगरले पर्यटक आकर्षित गर्न नसकेको भन्दै उनले आवश्यक संरचनाहरू भएपनि त्यसको व्यवस्थापनमा महानगरले ध्यान नदिएको पाइएको सुनाइन्। छाँगोको वरिपरिको जग्गामा वृक्षारोपण तथा संरचनाहरूमा रङ्गरोगन गर्नुपर्ने आवश्यकता जिसीले औंल्याएकी छन्।
यस अगाडि स्थानीय छोरेपाटन माविले छाँगो सञ्चालन र संरक्षणको जिम्मा २०३४ गर्दै आएको भएपनि पछिल्लो समयमा पोखरा महानगरपालिकाले यसको व्यवस्थापन गरिरहेको छ । महानगरको व्यवस्थापनसँगै यहाँको टिकट शुल्क बढेको छ । हाल विदेशीका लागि १५०, नेपालीका लागि ५० र विद्यार्थीका लागि ३० रुपैयाँ तोकिएको छ । तर शुल्क वृद्धि गरिएपनि सो अनुसारको आकर्षण नहुँदा पर्यटकहरू यहाँ भित्र पस्न नखोज्ने र पसेका पनि सन्तुष्ट नहुने पाइएको छ । यहाँ खटिएका कर्मचारी रेशम खड्काले महानगरले तीव्र रुपमा छाँगोलाई व्यवस्थित गर्ने कार्य गरिरहेको दावी गरे । उनले पार्क निर्माण गर्ने, शौचालयलाई व्यवस्थित गर्ने तथा फोहोर व्यवस्थापनलाई तिव्रता दिइएको बताए ।
डेभी नाम गरेकी एक स्विस पर्यटक सन् १९६१ मा यस छाँगोबाट खसेर बेपत्ता भएपछि उनको नाममा यसको नाम ‘डेभिज फल्स’ रहन गएको हो । पाँच सय मिटर भूमिगत जल प्रवाह र एक सय फिट गहिराइ रहेको छाँगोमा निरन्तर जल प्रवाह भइरहन्छ । विशेष गरी जेठदेखि असोज महिनासम्म छाँगो हेर्न आकर्षक मानिन्छ । कूल १२ रोपनी क्षेत्रफलमा फैलिएको यस पर्यटकीयस्थलमा विगतमा आन्तरिकका साथै भारतीय र चिनियाँ पर्यटकको अत्यधिक चाप हुने गरेको थियो ।
