पोखरा । प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार अन्तरगत गण्डकी प्रदेशको पुरस्कार कलाकार दलबहादुर (डिबी) गुरुङलाई प्रदान गरिने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा जेठ १५ गतेबाट सुरु हुने राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा उनलाई पुरस्कार अर्पण गरिनेछ । उनले समसामयिक चित्रकलाबाट नगद ५० हजार रुपैयाँ राशीको यो पुरस्कार पाउन सफल भएका हुन् । पुरस्कार ग्रहण गर्न उनी बुधबार काठमाडौँ प्रस्थान गरिसकेका छन् । 

डिबीका अलावा गण्डकीबाट प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार धावा दोर्जे गुरुङ, प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ गण्डकीबाट मनोज तामाङ, कला फोटोग्राफीमा गण्डकीबाट सृजना भुर्तेल पुरस्कृत हुनेछन् । उनीहरूलाई जनही नगद ३० हजार र सम्मानपत्र प्रदान गरिनेछ ।

 ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ मा यस पटक ५७१ कलाकारका ६०६ कलाकृति छनौट गरिएको छ । ती सबै कलाहरू प्रदर्शनीमा राखिने कुलपति नारदमुनि हार्तमछालीले जानकारी दिएका छन् । गत ४ फागुनदेखि १ चैतसम्म मुलुकका सात वटै प्रदेशमा आयोजना गरिएको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ बाट उत्कृष्टको आधारमा यी कला चयन गरेर राष्ट्रिय प्रदर्शनीमा राख्न लागिएको हो । प्रदर्शनीमा गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५ कला राखिँदै छ । यो प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0