पोखरा । नेपाल खेलकुद महासङ्घ प्रदेश कमिटी गण्डकीले मैत्रीपूर्ण फुटसल आयोजना गर्ने भएको छ । जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको स्मृति दिवसका सन्दर्भ पारेर जेठ ३ गते मैत्रीपूर्ण फुटसल हुन लागेको हो । नेपाल खेलकुद महासङ्घ गण्डकीको अधिवेशन आयोजक कमिटीको आयोजनामा हुने फुटसल हेम्जामा हुनेछ ।
नेकोस फुटबल सङ्घ, नेकपा एमाले वडा कमिटी, जनप्रतिनिधि र आयोजक कमिटीबीच मैत्रिपूर्ण फुटसल खेल हुने अधिवेशन आयोजक कमिटीका सचिव ईश्वर अधिकारीले जानकारी दिए । महासङ्घ गण्डकीको वैशाख ३१ गते बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो । अधिवेशनको प्रचार प्रसार गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल हुन लागेको बताइएको छ
महासङ्घका प्रदेश संयोजक बोधराज गिरीको अध्यक्षतामा भएको बैठकमा महासङ्घका केन्द्रिय सचिव विष्णु पुन, नेकपा एमाले गण्डकी प्रदेश सदस्य एवं महासङ्घका इन्चार्ज तारामाया थापाको विशेष उपस्थिति रहेको थियो । बैठकले आसन्न प्रदेश अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।
सोही बैठकले प्रदेश कमिटीको अधिवेशन अगाडि यहीं जेठ १७ गते ८ वटा खेल सङ्घ गठन गर्ने र तिनै सङ्घबाट मात्र प्रदेश अधिवेशनमा प्रतिनिधि बनाउने निर्णय गरिएको छ । नेकोसका फुटबल, भलिबल, ब्याडमिन्टन, कराँते, एथ्लेटिक्स, तेक्वान्दो, हाक्विदो र डोरीतान सङ्घ गठन गरिनेछ ।
महासङ्घ गण्डकी प्रदेशको दोस्रो अधिवेशन जेठ ३० र ३१ गते पोखरा २५ हेम्जामा रहेको माछापुच्छ्रे पार्टी प्यालेसमा हुनेछ । अधिवेशनको तयारीमा समेत तिव्रता दिइएको छ । अधिवेशन सम्पन्न गर्नको लागि बोधराज गिरीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । जसको सह–संयोजकमा रमेश कार्की र सचिवमा ईश्वर अधिकारी रहेका छन् ।











