पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएको छ । कोटिहोममा देशका विभिन्न ठाउँबाट आएका दानवीरहरू, आमा समूह, विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूको सहयोग गर्ने सङ्ख्या दिनहुँ बढ्दै गएको आयोजकले जनाएको छ । कोटिहोममा भोलि बिहीवार चर्चित गायिका एलिना चौहानको प्रस्तुति रहने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा बुधबार प्रमुख अतिथिकाे रुपमा गण्डकी प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ पुगेका थिए । उनले पोखरामा जारी कोटिहोमले गण्डकी प्रदेशलाई धार्मिक सहरको रूपमा स्थापित गर्न सहयोग पुर्याउने बताए । उनले हाम्रो हिन्दु धर्ममा विज्ञान जोडिएकोले पनि हिन्दु धर्म प्रति आकर्षण बढ्ने गरेको बताउँदै हाम्रो हिन्दु धर्मको सशक्त प्रचार गर्न यो कोटिहोम कोषेढुङ्गा साबित हुने उल्लेख गरे । उनले अनावश्यक गरिने खर्च कटाएर यस्ता उदाहरणीय कार्यक्रममा सहयोग गर्न सम्पूर्ण भक्तजनलाई आग्रह गरे ।
सामाजिक व्यक्तित्व ध्रुवचन्द्र बस्यालले महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिले आफूलाई सामाजिक क्षेत्रमा लाग्ने प्रेरणा दिएको बताए । कोटिहोममा चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले भजन शैलीमा भक्तजनलाई मनोरञ्जन दिँदै गर्दा राष्ट्रिय लोक दोहोरी तथा भजन गायक सूर्य खड्काले आफ्ना भजन प्रस्तुतिका माध्यमबाट दर्शकहरूलाई छमछम नचाएका थिए । यसका अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको पनि प्रस्तुति रहेको थियो ।
कार्यक्रममा मानव सेवा फाउन्डेसनका हरेक गतिविधिमा सहयोग गर्ने सामाजिक व्यक्तित्व इशा गुरुङकी आमा इन्द्रा कुमारी गुरुङ, र सुनिता गुरुङकी आमा विद्या कुमारी उदास तथा सामाजिक व्यक्तित्व सरस्वती घिमिरे, नगेन्द्र भण्डारी, हरि प्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
कोटिहोममा पोखरा महानगर पालिका वडा नं. १३ का अमर सापकोटा र लक्ष्मी सापकोटाले नगद २५ हजार, पोखरा महानगर पालिका वडा नं. ६ निवासी गङ्गा लामिछानेले नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको आयोजकले जनाएको छ ।
कोटिहोममा जेठ २ गते लोकदोहोरी गायिका पूर्णकला बिसी, ३ गते देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।
त्यसै गरी ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । जेठको पहिलो साताबाट प्रतियोगिता आयोजना गर्ने तयारी रहेपनि धेरै अभिभावकको अनुरोध र कक्षा १२ को परीक्षालाई मध्यनजर गरी जेठ ११ देखि प्रतियोगिता आयोजना गर्न लागेको उनले जनकारी दिए । प्रतियोगितामा सहभागी हुने विद्यार्थीले जेठ १० गते सम्म नाम दर्ता गरिसक्नु पर्नेछ ।
उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।
महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तीका अनुसार २०८३ सालको अन्तिम तिर पनि पोखरामा महायज्ञ हुनेछ जुन महायज्ञमा १ हजार भन्दा बढी धार्मिक सङ्घ संस्था पनि सामेल हुनेछन् । उनले कोटिहोम महायज्ञ पश्चात् पनि नियमित पोखरामा कार्यक्रम गर्न आश्रम स्थापना र मानस सेवा फाउण्डेसनको प्रदेश र जिल्ला समिति घोषण हुने बताए । महायज्ञमा गत वैशाख २७ गते देखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटीहोममा प्रवचन गरिरहेका छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ । कोटिहोममा अन्तर्राष्ट्रिय मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी राष्ट्र सन्त डा. मणिभद्र मुनीजी महाराजले पनि प्रवचन गरेका थिए । कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता र रक्तदान कार्यक्रम जारी रहेको छ ।
