पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले शैक्षिक योग्यता तोकेर गण्डकी प्रज्ञा प्रतिष्ठानका लागि कुलपति र प्राज्ञ पदाधिकारीका लागि दरखास्त आह्वान गरेपछि असन्तुष्टि सुनिन थालेको छ । सिर्जनात्मक क्षेत्रमा गरेको योगदान, इतिहास, क्षमता र अनुभवलाई प्रमुख सूचकको रुपमा राख्न उपयुक्त हुने असन्तुष्टि राख्नेहरूको भनाइ छ । मन्त्रालयले प्रतिष्ठान सञ्चालनसम्बन्धी ऐन, २०७७ बमोजिम नियुक्तिका लागि १५ दिने आवेदन माग गरेको छ । जसको सूचना वैशाख २७ गते प्रकाशित भएको थियो ।
कुलपतिको हकमा स्नातकोत्तर र उपकुलपति तथा सदस्यसचिव पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण तथा सदस्य पदका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्ने शैक्षिक योग्यता राखिएको छ । उम्मेदवारले नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको र प्रचलित कानुनअनुसार अयोग्य नठहरिएको हुनुपर्ने उल्लेख छ । यसरी मापदण्ड तोकिएपछि विधागत रूपमा आफ्नो क्षेत्रमा स्थापित बनेका तथा महत्वपूर्ण योगदान पुर्याएका स्रष्टाहरूनै कुलपति सहित पदाधिकारी र सदस्य बन्न नसक्ने अवस्था सिर्जना हुने देखिएको छ । यसले कोही व्यक्तिलाई प्रतिष्ठानका नेतृत्व सहितका पदमा आउन नमिल्ने अवस्था बनाइ कोहीलाई सहज रुपमा त्यस पदमा पुर्याउने चलाखीको रुपमा मापदण्डमा संशोधन गरिएको आशङ्का गरिएको छ ।
उमेरको विषयमा पनि पहिलो सूचनमा ३५ देखि ६५ वर्ष ननाघेको भनिएको थियो । त्यसमा विरोध भएपछि ६५ वर्षसम्म ननाघेको भन्ने हटाएर तुरुन्त ३५ वर्ष उमेर पुरा भएको भनी सूचना प्रकाशित गरिएको थियो । गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान ऐनमा सिफारिस समितिले सभाको सदस्यमा मनोनयनको लागि नाम सिफारिस गर्दा भाषा, साहित्य, लोक साहित्य, ललितकला, नाट्यकला, सङ्गीत संस्कृति सम्बन्धी विधामा सृजना, अध्ययन तथा अनुसन्धान गरेका वा सो विधामा ख्याति आर्जन गरेका व्यक्तिहरू मध्येबाट सम्भव भएसम्म सबै जाति तथा भाषाभाषीलाई समेट्ने गरी र उक्त सबै विधाबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गर्नुपर्ने भनिएको छ । तर आवेदन आव्हान गर्दा शैक्षिक योग्यता र उमेर हद तोकेपछि सम्बन्धित विधामा ख्याति आर्जन गरेका स्रष्टाको लागि प्रतिष्ठानको नेतृत्व, पदाधिकारी तथा सदस्यमा समेत पुग्न नसक्ने अवस्था देखिएको छ।
आवेदन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको संस्कृति हेर्ने महाशाखामा बुझाउनु पर्नेछ । आवेदन दिने क्रम भने सुरु भइसकेको बुझिएको छ । निवर्तमान कुलपति सूर्य खड्का विखर्चीले कुलपतिमा आवेदन दिइसकेका छन् । उपकुलपति सहितका अरु पदमा समेत आवेदन आइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
सूचनामा उम्मेदवारले आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, व्यक्तिगत विवरण, भाषा, साहित्य, कला वा संस्कृतिसम्बन्धी योगदान प्रमाणित गर्ने कागजात, सोही क्षेत्रमा काम गरेको अनुभव प्रमाणपत्र तथा सम्बन्धित विधा विकासका लागि संक्षिप्त कार्ययोजना समेत संलग्न गर्नुपर्ने भनिएको छ । संक्षिप्त कार्ययोजनामा सम्बन्धित विधाको विकास, स्रोत साधनको दिगो परिचालन तथा व्यवस्थापन र कार्यान्वयनका लागि समन्वय तथा सहकार्यका विषयहरू समावेश हुनुपर्ने उल्लेख छ ।
सिफारिस समितिले प्राप्त निवेदनको आधारमा मुख्यमन्त्री समक्ष नामहरू सिफारिस गर्नेछ । सिफारिस समितिको संयोजकमा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा तथा सदस्यमा गण्डकी विश्व विद्यालयका कुलपति र प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष रहेका छन् । केन्द्रका प्रतिष्ठानमा भने सिर्जनात्मक क्षेत्रमा गरेको योगदान, इतिहास, क्षमता र अनुभवलाई प्रमुख सूचकको रुपमा राख्ने गरिएको छ ।
