पोखरा । भिटामिन ‘ए’ पोखरासहित देशभर नै शनिवार देखि भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाउन सुरु भएको हो । आज र भोलि गरि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत पोखरा नयाँबजारस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पोखरा ८ मा ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ । एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको छ ।

भिटामिन ए तथा जुकाको औषधी खुवाउने कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले आजदेखि देशव्यापी रुपमा सुरु भएको भिटामिन ए र जुकाको औषधी खुवाउने अभियानमा पोखरा महानगरपालिका क्षेत्रका करिब ३० हजार बालबालिकाहरूलाई सहभागी गराउने लक्ष्य लिइएको जानकारी दिकन । उनले यो अभियानमा कोहीपनि बालबालिका छुट्न नहुने बताउँदै बालबालिका देशको कर्णधार भएको बताउँदै बालबालिकाको हेरचाहमा विशेष ध्यान दिन अभिभावकहरूलाई आग्रह गरिन् । सरकारले उपलब्ध गराउने भिटामिन ए क्याप्सुलसँग भिटामिनयुक्त फलफूल र तरकारीहरू प्रशस्त मात्रामा खुवाउनुपर्ने उपमेयर गुरुङको जोड छ ।

 सहरी स्वास्थ्य केन्द्र पोखरा ८ का प्रमुख कुश्मराज सुवेदीका अनुसार आज सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा नै बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधी खुवाइएको छ भने भोलि स्वयंसेविकाहरू घरघरमा पुगेर छुटेका बालबालिकाहरूलाई भिटामिन र जुकाको औषधी खुवाइने छ ।

 सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रका उपाध्यक्ष तथा पोखरा ८ का जनप्रतिनिधि लक्ष्मी विकको अध्यक्षतामा आयोजित कार्यक्रममा बालबालिकाहरूको पाखुराको नाप जाँच पश्चात् पोषण अवस्थाको यकिन गरी ६ देखि २३ महिनासम्मका बालबालिकाहरूलाई बालभिटा समेत प्रदान गरिएको छ ।

नेपाल सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो । जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट शुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0