पोखरा । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच सत्ता साझेदारीमा कुनै पनि समस्या नभएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सत्ता साझेदार दलबीच समस्या नभएकाले सरकार पनि नढल्ने दावी गरेका हुन् ।
नेपाली काङ्ग्रेसका पदाधिकारीहरूले नै सरकारको कामकारबाहीका विषयमा प्रश्न उठाइरहेका बेला काङ्ग्रेस नेता समेत रहेका मन्त्री लेखकले सो सरकार नढल्ने बताएका हुन् । सरकार सञ्चालनको सवालमा कुनै पनि समस्या नरहेको र काम गर्दै जाँदा केही विषय आएमा छलफल गरेर सहमतिमा नै निर्णयहरू हुँदै आएको बताउँदै मन्त्री लेखकले दुई दलबीच चिसियो र सरकार बदलिन्छ भन्ने खालका हल्लाहरूमा सत्यता नरहेको बताए ।
गृहमन्त्री लेखकले गभर्नर नियुक्तिको विषयले पनि सरकारलाई अप्ठ्यारो नपर्ने बताए । पछिल्लो समय संविधान विरोधी गतिविधि देखापरेको बताउँदै पूर्व राजावादीहरू लोकतन्त्र र गणतन्त्र समाप्त गरेर पश्चगामी अभियानमा रहेको समेत उनले बताए ।
प्रेस युनियन कास्कीका अध्यक्ष बासुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव धन बहादुर गुरुङ सुमनले गरेका थिए ।
