पोखरा । पोखरामा मनुश्री भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता २०८२ हुने भएको छ । बैशाख ३ गतेबाट पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस सङ्घले मङ्गलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

सङ्घका संरक्षक खेल प्रेमी कुमार श्री मोहन बहादुर शाहीको नाति नातिनीको सम्मान स्वरुप मुख्य प्रायोजनमा चौथौ संस्करणको यो प्रतियोगिता हुन लागेको हो । बैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८५ जना खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक समेत रहेका सङ्घका निवर्तमान अध्यक्ष लोक बहादुर गुरुङले जानकारी दिए । 

कुल १४ वटा इभेन्टमा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाइज तथा गर्ल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव ४ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।

 प्रतियोगितामा यू–१२ ब्वाइज तथा गर्ल्स सिङ्गल्स विजेताले जनही नगद रु ८ हजार तथा उपविजेताले जनही नगद रु ४ हजार सहित मेडल प्राप्त गर्नेछन् ।

यू–१४ ब्वाइज तथा गर्ल्स सिङ्गल्स विजेताले समान जनही नगद रु १० हजार, उपविजेताले समान जनही नगद रु ५ हजार सहित मेडल प्राप्त गर्नेछन् ।

यू–१६ ब्वाईज तथा गर्ल्स सिङ्गल्स विजेताले समान जनही नगद रु १५ हजार उपविजेताले समान जनही नगद रु ७ हजार ५ सय तथा ब्वाइज तथा गर्ल्स ओपन डबल्सतर्फ विजेताले समान जनही नगद रु १० हजार उपविजेताले समान जनही नगद रु ५ हजारसहित मेडल प्राप्त गर्नेछन् । 

त्यस्तै यू–८, यू–९यू–१०, ब्वाइज तथा गर्ल्स सिङ्गल्स विजेता तथा उपविजेताले नगदसहित मेडल प्राप्त गर्ने कास्की जिल्ला टेनिस सङ्घका कार्यकारी सदस्य प्रीति बरालले जानकारी दिइन् ।  

प्रतियोगितामा पोखरा, काठमाडौँ चितवन लगायतका ठाउँका खेलाडीहरूले सहभागिता जनाउने आयोजकको भनाइ छ । कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष राज कुमार गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेल, टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारी, सचिव भीष्मराज पौडेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0