पोखरा । पोखरामा राष्ट्रिय भजन प्रतियोगिताको आयोजना हुने भएको छ । वैशाख १७ गतेदेखि जेठको २६ गते सम्म पोखरामा हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ अन्तरगत यो प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा रैथाने, परम्परागत, खैञ्जडी लगायतका सबै भजनलाई पर्यटकीय राजधानी पोखरामा देशैभरबाट उपस्थिति गराउने तयारी गरिएको उनले खुलाए । अहिलेसम्म झण्डै १ सय टिमले दर्ता गराइसकेका छन् । बाँकी इच्छुक भजन समुहलाई टिम दर्ता गर्नको लागि यहीं बैशाखको १० गतेसम्मको समय दिइएको छ । प्रतियोगितामा झण्डै ३ सय टिमको सहभागिता रहने अपेक्षा गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष समेत रहेका पराजुलीले बताए । भजन प्रति रुचि भएका सबैलाई प्रतियोगितामा भाग लिन उनको आग्रह छ ।
प्रतियोगितामा भाग लिने मध्येबाट १६ वटा विधामा पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, द्वितीय पुरस्कार २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, तृतीय पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । सान्त्वना पुरस्कार स्वरुप ६५ हजारका दरले दुई टिमलाई पुरस्कृत गरिनेछ । यसका अलावा उत्कृष्ट नृत्य, उत्कृष्ट भेषभुषा, उत्कृष्ट अभिनय, उत्कृष्ट श्रृंगार, उत्कृष्ट पुरुष स्वर, उत्कृष्ट महिला स्वर, उत्कृष्ट बाल कलाकार लगायतका विधामा पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी बन्न दर्ता शुल्क लाग्ने छैन । पोखरा महानगरभित्रका टिमलाई खाजा खर्च ५ हजार ५ सय ५५ रुपैयाँ, कास्कीका गाउँपालिकाका टिमलाई ७ हजार रुपैयाँ, गण्डकी प्रदेशका कास्की बाहिरकालाई सहभागी भए वापत प्रति टिम ११ हजार ५ सय खाजा भत्ता दिइनेछ । गण्डकी प्रदेश बाहिरका टिमलाई १३ हजारका दरले भत्ता दिइनेछ । सबैलाई नअल्मलिकन टीम दर्ता गर्न उनको आग्रह छ । टिम दर्ता पश्चात फोन मार्फत जानकारी लिएर कहिले पालो पर्छ भन्ने तय गरिनेछ । एक दिन मात्र पालो पर्ने भएकोले कोटिहोम अवधिभर बस्नु नपर्ने उनले खुलाए ।
झाकी श्रृगार अभिनय भेषभुषाको आधारमा कम्तिमा १५ मिनेट देखि बढीमा ३० मिनेटसम्म प्रस्तुती राख्न दिइनेछ । प्रतियोगितामा सहभागी बन्न समूहगत भजन गाउनुपर्नेछ । समुहमा कम्तिमा ७ जना हुनुपर्छ ।
पोखरामा आयोजित ऐतिहासिक कोटिहोम अन्तरगत बैशाख ३ गते भूमि पूजन र यज्ञ कुण्ड खन्ने काम हुदैछ । बैशाख ११ गते वृहत साइकल प्रभातफेरी, बैशाख १२ गते वृहत ट्याक्सी प्रभातफेरी, बैशाख १३ गते वृहत मोटरसाइकल प्रभातफेरी, बैशाख १४ गते वृहत डुङ्गा प्रभातफेरी, बैशाख १५ गते वृहत पैदल यात्रा, बैशाख १६ गते वृहत मङ्गलमय कलश यात्रा हुनेछ ।
कोटिहोम महायज्ञको पूर्वाङ्ग बैशाख १७ गते बिहान गरिनेछ । बैशाख १९ गतेबाट हवनात्मक कार्य प्रारम्भ गरिनेछ भने सोही दिन अग्नि मन्थन, अग्नि कुण्डमा अग्नि प्रवेश गराउने, अग्निमा समिधा दान, अग्नी कुण्णमा आहूति प्रदान गररिनेछ । जेठ २६ गते कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरि अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्य गरिने आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल पोखराले जानकारी दिएको छ । महायज्ञ पोखरा १७ बिरौटामा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्रमा हुनेछ ।
