पोखरा । नेकपा एमाले कास्कीले जागरण अभियान अन्तरगत मोटरसाइकल र्याली सम्पन्न गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनचेतना अभियान सञ्चालन गरिरहेको एमालेले कास्कीमा मोटरसाइकल र्याली निकालेको हो ।
एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीका अनुसार पोखरा प्रदर्शनी केन्द्रबाट सुरु भएको र्याली पृथ्वीचोक, मुस्ताङ चोक, बिरौटा, राष्ट्रबैङ्क चोक, शहीदचोक, लेकसाइड, हल्लनचोक, जिरो किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, चिप्लेढुङ्गा, सिद्धार्थचोक, भैरवटोल, बिन्दवासिनी, ट्याक्सीचोक, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै अमरसिंह चौरमा पुगेर समापन भएको थियो ।
जागरण अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पुर्याउने लक्ष्य राखिएको उनले बताए। कास्कीमा चैत्र ३० गते बृहत् जनसभाको आयोजना हुने तय भएको र त्यसको तयारीमा लागेको समेत अध्यक्ष क्षेत्रीले जानकारी दिएका छन् ।
एमालेले जागरण अभियानलाई पार्टीको सशक्तीकरण गर्ने अवसरको रूपमा लिएको जनाएको छ । अभियानलाई सफल बनाउन एमालेका जनवर्गीय सङ्गठनहरू, युवा सङ्घ, अनेरास्ववियु, सम्पर्क कमिटीहरू लगायतलाई विशेष जिम्मेवारी समेत तोकिएको छ ।
