पोखरा । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । राजावादीहरूको हिंसात्मक आन्दोलनका क्रममा पत्रकारले ज्यान गुमाएको घटनामा गहिरो अनुसन्धान गरी हत्यामा संलग्नहरूलाई फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै आन्दोलनरत महासङ्घ कास्कीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

 नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बराल नेतृत्वको टोलीले सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।ध्यानाकर्षण  पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले पत्रकारहरूको मागलाई तत्काल सम्बन्धित निकायमा यथाशीघ्र पठाउने प्रतिवद्धता व्यक्त गर्दै पत्रकारहरूको सुरक्षाका लागि प्रशासन सचेत रहेको बताए । चैत्र १५ गते घटेको घटना प्रति दुःख व्यक्त गर्दै कास्कीमा पत्रकारको सुरक्षाको लागि स्थानीय प्रशासन सदैव सचेत रहेको बताए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले हत्यामा संलग्नलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा पत्रकारको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन माग राखेर ज्ञापनपत्र बुझाइएको बताए ।

महासङ्घ कास्कीले  विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि प्रजिअमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । एक साताभित्रै माग सम्बोधन हुने विश्वसनीय आधार नभए महासङ्घ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने  ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको उनले खुलाए ।

नेपाल पत्रकार महासंघ कास्कीका सचिव भुपाल गुरुङले सञ्चालन गरेको कार्यक्रममा महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की, पूर्व अध्यक्ष तथा सल्लाहकार दीपेन्द्र श्रेष्ठ सहित महासंघ कास्कीमा आवद्ध पत्रकारहरूको सहभागिता रहेको थियो ।

 शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्टको भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पुर्‍याइएको, कान्तिपुर टिभीको भवनमा ढुङ्गामुढा गरिएको, हिमालयन टिभीको सवारीसाधनमा तोडफोड गरिएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको, फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0