पोखरा । सिटीवान टेलिभिजनले नेपालीहरूका महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। स्टार नेपाल मिडिया हब प्रालिद्वारा सञ्चालित टेलिभिजनले बिहीबार टेलिभिजनको प्राङ्गणमा प्रतिनिधिसभा सदस्य बिना गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गुरुङले वर्तमान सरकारले आफ्नै ढङ्गले देशको हितमा काम गरिरहेको बताउँदै सरकारलाई रचनात्मक सुझाव दिन आग्रह गरिन्। राष्ट्र निर्माण तथा नागरिकलाई सहज र सर्वसुलभ सेवा प्रदान गर्न आफू निरन्तर क्रियाशील रहने उनको भनाइ थियो। चाडपर्वले आपसी आत्मीयता, सद्भाव र एकतालाई थप बलियो बनाउने उनले विश्वास व्यक्त गरिन्।

गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.शेषनारायण पौडेलले यस वर्ष देशले विभिन्न विपत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता विपत्ति भोग्न नपरोस् भन्ने कामना गरे। उनले सुशासन र सदाचार कायम गर्न सके मात्रै आर्थिक विकासले गति लिन सक्ने बताए। देशमा विधि र प्रणाली स्थापित हुनुपर्नेमा जोड दिँदै उनले चाडपर्वको सामाजिक तथा सांस्कृतिक महत्त्वसँगै आर्थिक पक्ष पनि जोडिएको बताए। चाडपर्वले समस्यामा परेको अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए। चाडपर्वहरू संस्कृतिका अमूर्त सम्पदा भएकाले तिनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले मुलुकले सामना गर्नुपरेका विपत्तिको व्यवस्थापनमा सरकारले प्रयास गरिरहेको बताए। पूर्वाधार क्षेत्रमा करिब ६ खर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धिका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। सबै राजनीतिक दल गम्भीर बन्दै साझा प्रयासमा जुट्नुपर्नेमा जोड दिँदै उनले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य आवश्यक रहेको बताए। चाडपर्वका नाममा देखिने विकृतिसँगै एकले अर्कालाई घृणा गर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने उनको भनाइ थियो।

पोखरा महानगरपालिका वडा नं। १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीले सबै नागरिकले सहज र समान रूपमा चाडपर्व मनाउन पाउने वातावरण निर्माण गर्नुपर्ने बताइन्। आपसी एकता र सहकार्यका माध्यमबाट संस्कार तथा संस्कृतिको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।

सिटीवान टेलिभिजनका अध्यक्ष पवन प्रजापतिले सबैको साथ र सहयोगका कारण टेलिभिजनले यहाँसम्मको यात्रा तय गर्न सफल भएको बताए। आगामी दिनमा पनि सबैबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्दै उनले वर्तमान अवस्थामा टेलिभिजन सञ्चालन गर्न सहज नभए पनि सरकार तथा व्यवसायी सबैको सकारात्मक भूमिका आवश्यक रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कोषाध्यक्षसमेत रहेका टेलिभिजनका उपाध्यक्ष राजेन्द्र ओझाले उद्योगी तथा व्यवसायीलाई सरकारको साथ र सहयोग आवश्यक रहेको बताए। देशमा आएका विपत्ति तथा विभिन्न घटनाले सबै क्षेत्रमा प्रभाव पारेको उल्लेख गर्दै उनले कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गरे। सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उनले आयआर्जनका अवसर विस्तार हुनुपर्नेमा जोड दिए।

कार्यक्रमको सञ्चालन टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गरेकी थिइन्। उनका अनुसार स्टार नेपाल मिडिया हब प्रालिद्वारा सञ्चालित सिटीवान टेलिभिजनको मुख्य कार्यालय पोखराको नयाँबजारमा रहेको छ भने शाखा कार्यालय काठमाडौंको क्षेत्रपाटीमा छ। ३० जना व्यवसायीको लगानी रहेको यस टेलिभिजनले २१ जनालाई रोजगारी दिएको छ ।

 गण्डकी प्रदेशलाई प्राथमिकतामा राखेर कार्यक्रम तथा समाचार सामग्री प्रसारण गर्दै आएको सिटीवान टेलिभिजनले २०७८ मंसिर २१ गतेदेखि नियमित प्रसारण सुरु गरेको हो। शुभकामना आदान प्रदान कार्यक्रममा पोखराका उद्योगी व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी, शुभचिन्तक लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0