पोखरा । यहीँ चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ। आयोजक विष्णुपादुका क्लबले सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो।

 ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीहरूको वृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरूका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव समग्र पोखराकै ब्रान्ड बनेको उल्लेख गर्दै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारे। पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गइरहेको उल्लेख गर्दै प्रवक्ता तिम्सिनाले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास समेत व्यक्त गरे । 

त्यस अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना कार्यान्वयन इकाई गण्डकीका माधव लम्साल, ज्ञान केन्द्र कास्कीका कृषि प्रसार अधिकृत रामकृष्ण अर्याल, नेपाल पत्रकार महासङ्घ कास्की उपाध्यक्ष माधव रेग्मी लगायतले पनि धारणा राख्दै आलु महोत्सवको प्रवर्द्धनमा जोड दिए। उनीहरूले आलु महोत्सवलाई अझ सुदृढ एवम् परिमार्जन गर्दै लैजानुपर्ने बताउँदै कृषि उपजका नाममा महोत्सव हुनु आफैँमा महत्वपूर्ण भएको औँल्याए । 

मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव विकल थापाले स्वागत तथा महोत्सवका महासचिव हिक्मत थापाले कार्यक्रम सञ्चालन गरे। वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस बसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन् । 

त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु.१८ हजार ५ सय ५७ रहेकोमा औसत उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङ्कमा उल्लेख छ । हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका वृहत प्रदर्शन एवम् प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवम् विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0