पोखरा । पोखरा महानगरपालिका वडा नं. ८ कार्यालयको प्रशासकीय भवन उद्घाटन भएको छ । पोखराको न्युरोडमा निर्माण गरिएको भवनको आइतबार एक कार्यक्रमकाबीचमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख आचार्यले २ करोड ८६ लाखको भुक्तानीमा भवन निर्माण गरिएको उल्लेख गरे । अधिकांश वडामा भवन निर्माण भैसकेको र अब वडा नं. ९ र वडा नं. ६ मा मात्र भवन निर्माण हुन बाँकी रहेको सुनाए । अहिले पोखरा महानगरपालिकामा ३३ अर्बका धेरै वर्षसम्म खप्ने परियोजनाहरू सुरु भएको बताए । यसका अलावा महानगरको आफ्नै स्रोत साधन मार्फत पनि विभिन्न काम भइरहेको उनले खुलाए ।
महानगरवासीले गरेका केही कामले दिक्क लाग्ने गरेको भन्दै बोट बिरुवा नकाट्न अनुरोध गरे । काटेमा ठूलै जरिवाना र कैद हुने चेतावनी उनले दिए । न्युरोडमा फोहर उठाउने गाडी हरेक दिन बिहान र बेलुका पठाउँदा समेत फोहरका पोको ल्याएर सडकमै राख्ने गरेको गुनासो गरे । यसलाई सुधार गर्न अभियान नै चलाउनु पर्ने खाँचो उनले औँल्याए ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले वडा भनेको जनताको लागि सेवा प्रवाह हुने नजिकको सरकार भएकोले त्यसको अनुभुति हुने गरी काम गर्न सक्नुपर्ने बताइन् । महानगरपालिकाले वडालाई थप अधिकार प्रदान गरेर मजबुत बनाउने काम गरिरहेको भन्दै त्यसको महसुस सेवाग्राहीले गर्न पाउने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन् । ५० लाख सम्मका योजना वडामा नै सम्झौता गर्ने अधिकार प्रदान गरिएको उनले खुलाइन् ।
ज्येष्ठ नागरिक र अशक्तहरूको सहजताको लागि लिफ्ट सहितको भवन तयार पारिएको पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले बताए । वडा प्राप्त हुने सेवा प्रवाहलाई एकद्वार प्रणालीबाट छिटो छरितो ढङ्गले प्रवाह गर्ने गरिएको दावी उनले गरे । सेवाग्राहीबाट आएका गुनासोलाई समेत सम्बोधन गर्दै कार्य सम्पादन गर्ने गरिएको उनको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष देवकृष्ण पराजुली, वडा नं.७ का अध्यक्ष राममोहन आचार्य, वडा नं.९ का अध्यक्ष दीपेन्द्र मर्सानी, नेकपा एमाले पोखरा ८ का अध्यक्ष दीपकराज घिमिरे, राप्रपा नेपाल पोखरा ८ का अध्यक्ष बाबुराम चालिसे, आमा समुहको तर्फबाट अपिला बराल, बगाले टोल विकास समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, वरिष्ठ इञ्जिनियर लक्ष्मीप्रसाद गौतम, वडा सचिव झङ्कनाथ पौडेल लगायतले बोलेका थिए ।
वडा भवन जिल्ला समन्वय समिति कास्कीको ६० प्रतिशत र महानगरपालिकाको ४० प्रतिशतको लागतमा तयार भएको हो । सृजना चोक स्थित पुरानो र साँघुरो भवनबाट सञ्चालित वडा कार्यालयको सेवा विगत ३ महिनादेखि न्युरोड स्थित नयाँ भवनबाट उपलब्ध गराइएको छ । भवन उद्घाटन सँगै अब सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउदै लैजाने प्रतिवद्धता वडाध्यक्ष बरालले गरे ।
