पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार गण्डकी प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले चैत १५ मा राजावादीहरूले गरेको आपराधिक गतिविधिको मुख्य कारक पूर्वराजा ज्ञानेन्द्र शाह रहेको दावी गर्दै उनलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका हुन् ।
उनले १५ गतेको घटना मुलुकको लोकतन्त्र, गणतन्त्र र सङ्घीयतामाथि बर्बर आक्रमण भएको बताए । भिडलाई उत्तेजक बनाउने, सुनियोजित रुपमा आक्रमणमा उत्रिएर जनताको जीउधनमाथि खेलवाड गर्दै आगजनी गरी जिउँदै पत्रकार जलाउने अपराधीलाई कारवाही गरियोस भन्ने माग उनले राखे ।
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने तर निरङ्कुश राजतन्त्रको उल्टो बाटोमा हिड्न नसकिने अधिकारीको भनाई थियो । गणतन्त्र र लोकतन्त्रको विकल्प उन्नत गणतन्त्र र लोकतन्त्र भएको बताउँदै निरङ्कुश राजतन्त्र फर्काउन सकिन्छ भनेर कल्पनासमेत नगर्न उनले चेतावनी दिए । लोकतन्त्रको सहनशीलतालाई कमजोर नठान्न समेत उनले आग्रह गरे ।
पुरानो तन्त्र फर्काउने सपना कसैले देखेको भए सिङ्गो प्रदेश सभा एकस्वरका साथ त्यस्तो सपनालाई चकनाचुर पारेर छाड्ने र गणतन्त्र अझ बलियो बनाउने उद्घोष उनले गरे । ‘हाम्रा सुधार्नुपर्ने कुराहरू हुनसक्छन् । हाम्रा जीवनशैली, कार्यशैली कार्यपद्धतिमा जनताको गुनासा हामीले सुनेका छौ’, अधिकारीले भने ।
लोकतन्त्रको सुन्दर पक्ष वादविवाद, प्रतिवाद, संवाद र संश्लेषणबाट निष्कर्ष निस्कनु रहेको भन्दै उनले लोकतन्त्रमा निषेध नहुने भएकाले अरुको व्यक्तिगत सम्पत्तिमाथि आगजनी गर्ने, पार्टी कार्यालय ध्वस्त गर्ने, अपराधपूर्ण काम गर्ने लोकतन्त्रबिरोधी अपराधीले मात्र गर्न सक्ने बताए । राजतन्त्र पहिल्यैदेखि जनविरोधी क्रियाकलापमा संलग्न रहँदै आएको उनको दावी थियो । एमाले, काङ्ग्रेस लगायतका दलको सामूहिक प्रयत्नले गणतन्त्र आएको भन्दै अहिले देश एकताबद्ध रहेको बताए । ‘आज देश एकताबद्ध छ प्रतिगमनको कुनै गुञ्जायश छैन’ उनले भने ।
पूर्वमुख्यमन्त्री अधिकारीले भ्रममा परेर प्रतिगामीहरूको उक्साहटमा कहिँ कतै जान नउक्सिन सबै जनसमुदायहरू आग्रह गरे । अकल्पनीय र हुनै नसक्ने कुरामा कोही नलाग्न अपिल समेत गरे । लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकता र धर्मनिरपेक्षताको संरक्षण तथा सवलीकरण गराउनका लागि सञ्चारजगत, नागरिक समाज, उद्यमी व्यवसायी, राष्ट्रसेवकहरुलाई पुरा तागतका साथ आफ्नो कार्यक्षेत्रमा लाग्नुपर्नेमा उनको जोड थियो । उनले राजाको शासनको बेलामा भएको विभिन्न घटनाहरुको स्मरण गर्दै कसैले आगजनी तोडफोड र आतंक मच्चायर लोकतन्त्रको सहनशिलतालाई कमजोर ठानियो भने त्यो सह्यै नहुने प्रष्ट पारे । गणतन्त्रमा स्वस्थ प्रतिष्पर्धा भने हुने उनले खुलाए ।
