पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आवको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रीले काम नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउन पहल गर्न निर्देशन दिएका हुन् । 

चालु आर्थिक वर्षभन्दा अगाडि रोकिएका बहुवर्षीय नियमित योजनाहरू सञ्चालन गर्न बहानाबाजी, ढिलासुस्ती गरि निर्माण कार्य नगर्ने निर्माण व्यवसायीलाई सम्पर्क गरी निर्माण कार्य सुरु गराउने तर्फ पहल गर्न निर्देशन दिन्छु,’ उनले भने । मन्त्री केसीले थपे, ‘मन्त्रालयबाट गरिएको परिपत्र अनुसार काम अगाडि नबढाएमा निर्माण व्यवसायीलाई लिखित रुपमा कारवाहीका प्रकृया अगाडि बढाउन निर्देशन गर्दछु ।’ चालु आवको वार्षिक विकास कार्यक्रममा समावेश योजनालाई समयमा सम्पन्न गर्न मन्त्रीले ताकेता गरे । कुनै योजनाको ठेक्का प्रक्रिया बाँकी भए चैत्र मसान्तभित्र ठेक्का सम्झौता गर्न उनको निर्देशन छ । मन्त्री केसीले भने, ‘हाल मन्त्रालयको भौतिक ४५ र वित्तिय ३१.१५ प्रतिशत प्रगति भएको हुँदा कर्मचारी साथीहरूलाई सक्रिय बनाई वार्षिक गोष्ठीमा आउँदा कम्तिमा ८० प्रतिशत प्रगति हासिल हुने गरि कार्य गर्नुहुन निर्देशन गर्दछु ।’ 

उनले चालु आवभन्दा अगाडिका एवं क्रमागत बहुवर्षीय योजनाहरूमा रकम विनियोजन न्यून भएको बताए । रकमान्तर भएका योजनाहरूमा तुरुन्त काम अगाडि बढाउन केसीले निर्देशन दिए । समस्याग्रस्त योजनाको सन्दर्भमा निर्माण व्यवसायीसँग छलफल गरि कार्य अगाडि बढाउने वा ठेक्का तोड्न सिफारिस गर्ने गरि कार्य व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0