पोखरा । दोस्रो सूर्यतारा खेल महोत्सवमा हुने नेकोस कप पुरुष फुटबल प्रतियोगितामा १० टिमले सहभागिता जनाउने भएका छन् । सूर्य तारा क्लब पोखराका अध्यक्ष तथा खेल महोत्सवका कार्यक्रम संयोजक विष्णु पुनले दिएको जानकारी अनुसार प्रतियोगितामा सुर्यतारा क्लब पोखरा, कृष्ण दलगण फूलबारी ब्यारेक, अन्नपूर्ण गाउँपालिका, विष्णु पादुका क्लब हेम्जा, आरएस बिच फुटबल क्लबले सहभागिता जनाउनेछन् । यसैगरी एवाइसी क्लब भण्डारढिक, गन्नी एफसी पोखरा, गण्डकी प्रदेश प्रहरी क्लब, एल जि एशोसिएसन र एलसी ब्रदर्श युनाइटेड समेत सहभागि बन्नेछन् ।
प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक भएको छ । जस अनुसार फागुन २४ गते उद्घाटन खेल आयोजक सुर्यतारा क्लब र कृष्ण दलगण फूलबारी ब्यारेकबीच हुनेछ । २५ गते अन्नपूर्ण गाउँपालिका र विष्णु पादुका क्लब हेम्जाबीच खेल हुनेछ । २६ गते एवाइसी क्लब भण्डारढिक र गन्नी एफसी पोखरा तथा गण्डकी प्रदेश प्रहरी क्लब र एल जि एशोसिएसनबीच प्रतिष्पर्धा हुनेछ ।
२७ गते आरएस बिच फुटबल क्लबले अन्नपूर्ण गाउँपालिका र विष्णु पादुका क्लब हेम्जाबीच खेलको विजेतासँग खेल्नेछ । सोही दिन एलसी ब्रदर्श युनाइटेडले गण्डकी प्रदेश प्रहरी क्लब र एल जि एशोसिएसनबीचको विजेतासँग खेल्नेछ । २८ र २९ गते सेमिफाइनल तथा चैत्र २ गते फाइनल खेल हुनेछ ।
पोखरा २९ भण्डारढिकमा रहेको प्रस्तावित रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउनेछ । वेस्ट प्लेयरलाई १५ हजार र सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पार्नेछ । फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर नेपाल खेलकुद महासङ्घ रहेको छ।
फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत महोत्सवमा हुनेछ ।
फागुन २४ गते प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महोत्सवको उद्घाटन गर्ने महोत्सवको समापन कार्यक्रममा नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थिति हुनेछन् । प्रतियोगिताको मुख्य प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि र सह प्रायोजकमा बन्दिपुर केबल कार प्रालि रहेका छन् । प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय खेलकुद परिषद नेपाल, प्रदेश खेलकुद परिषद गण्डकी र नेपाल पर्यटन बोर्ड रहेका छन् ।
महोत्सवमा हुने फुटबल प्रतियोगिता हेर्नको लागि प्रिक्वार्टर फाइनल र क्वाटर फाइनलको लागि १ सय रुपैयाँ तथा सेमिफाइनल र फाइनलका लागि २ सय रुपैयाँको टिकट काट्नुपर्नेछ । चैत्र २ गते हुने समापन कार्यक्रममा रचना रिमाल लगायतका कलाकारको प्रस्तुती समेत रहनेछ ।
