पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेश सभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले संविधान माथिको खेलवाड सहन नसकिने बताएका छन् । बिहीबार गण्डकी प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले राजतन्त्र निर्मूल भैसकेको अवस्थामा अवैधानिक पोष्टर र ब्यानर टाँस्नु संविधान माथिको खेलबाड भएको दावी गरे । ‘यो देशमा राजतन्त्र निर्मूल भैसक्यो, कसै कसैले श्री ५ महाराजधिराज भनेर अवैधानिक पोष्टर टासिन्छ ब्यानर टासिन्छ भने सिधै संविधान माथिको खेलबाड हो । संविधान माथिको खेलवाड हामी सहन सक्दैनौ’  उनले भने ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएकाले यसमाथि प्रश्न उठाउन नहुने उनको भनाइ छ । देश पछाडि नफर्कने उनको जिकिर छ । ‘नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो । अव यो पछाडिको चक्रमा जान चाहदैन, यसको पाङ्ग्रा पछाडि होइन, अगाडि बढ्छ । सम्पन्न, समृद्ध र समुन्नत गणतन्त्र नेपाल बन्ने छ । बनाउने अभियन्ता हामी हौ । गणतन्त्रविरुद्धको सीमा र अराजकता बढाइयो भने कानुनको परिपालना गर्नु सबैको कर्तव्य हो भन्ने सबैले बुझ्नु पर्छ ।’ उनले भने ।

आफूहरूले अन्तरविरोधलाई सम्मान भने गर्ने बताए । लोकतन्त्रको सिमा भित्र रहेर असहमतिका कुरा राख्न उनले अपिल गरे । राजतन्त्र पक्षधरलाई लक्षित गर्दै उनले भने ‘अन्तरविरोधलाई हामी सम्मान गर्छौ । यति नतानियोस् कि रबर तन्काउदै जाँदा चुँडिने गरी नतानियोस् । त्यसले लक्ष्मण रेखा तोड्दै जान्छ भने ठूलो आपत्ति पर्दछ ।’

निरङ्कुशता सबैको लागि घातक हुने भन्दै उनले राजतन्त्रका दिनमा भएका केही घटना स्मरण गराए । एअरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याउने र रातीराती मूर्ति क्रेनले उठाएर विदेशमा बेच्ने लगायत थुप्रै विकृति राजतन्त्रको पालामा भएको भन्दै हेक्का राख्न आग्रह गरे ।

अहिले अनावश्यक भ्रममा पार्न खोजिएको भन्दै त्यस्ता भ्रममा नपर्न उनले अनुरोध गरे । ‘डिस इन्फरमेसन, मिस इन्फरमेसन र फेक इन्फरमेसनलाई बढावा दिएर गाली बेइज्जती गरेर गाली गलौजको शृङ्खला बनाएर हामी कहाँ जाँदैछौ । हामी यस्तो भ्रममा नपरौँ’ उनको अनुरोध छ ।

उच्चकोटीको राजनीतिक सहमति पछि संविधान सभाबाट संविधान जारी गर्दै देश सङ्घीयतामा गएको भन्दै प्रदेश संरचनालाई कम नआक्न एमाले स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले सुझाए । प्रदेश संरचनालाई सवलिकरण गरेर, सुदृढीकरण गरेर जनताको अधिकारलाई प्रभावकारी बनाउन भने पर्नेमा उनको जोड थियो । ‘हाम्रा आफ्ना केही रिजर्भसनहरु होलान् । केन्द्र सरकार र हाम्राबीचमा केही अन्तरविरोध होलान् । यी हाम्रा आन्तरिक हुन् । र, यसलाई हामी समाधान गर्न सक्छौ ।’ उनले भने ।

उनले प्रदेश सभाले वरपिपल संरक्षण सम्बन्धी ऐन पास गरिसकेको अवस्थामा पोखरामा वरपिपलका रुख ठूटा पारिएको भन्दै चिन्ता व्यक्त्त गरे । पर्यावरणिय असन्तुलनका कारणले माछापुच्छ्रेमा हिउँ पर्दा हर्ष बढाइ गर्नुपर्ने अवस्था आएको बताए ।

प्रदेश संरचनाका कारण केही अवसर सिर्जना भइसकेको उनले खुलाए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस र पिजिको पढाइ हुने अवस्था, मणिपाल कलेज अफ मेडिकल साइन्स, गण्डकी मेडिकल कलेज, गण्डकी विश्वविद्यालय, पोखरा विश्वविद्यालय लगायत मार्फत सहज तरिकाले अध्ययन गर्ने अवस्था सिर्जना भएको सुनाए ।

गण्डकीमा दुई गाउँपालिका बाहेक ८५ पालिकामा केन्द्रसँग जोड्ने काम यही प्रदेश संरचना भएपछि भएको विर्सन नहुने उनको भनाइ छ। उज्यालो गण्डकी मार्फत हरेक घरमा पानीका धारा पुर्‍याउने काम समेत प्रदेश संरचनाकै उपलब्धि भएको दावी गरे ।

प्रर्याप्त साधन र श्रोतको अभावमा जनताका अपेक्षाकृत कार्य हुन नसकेको स्वीकार गरेका उनले आन्तरिक श्रोतहरुलाई अगाडि बढाउने काममा लाग्दै गरेको खुलाए । प्रदेश भित्रका कतिपय संरचना हटाउने कि राख्ने भनेर सार्वजनिक रुपमा प्रश्न उठ्न थालेकोमा त्यसमा आवश्यक पर्दा समीक्षा गर्न तयार रहेको उनले खुलाए ।

 प्लस टु पास हुने वितिकै नो अब्जेक्सन लेटर दिने चलनमा समेत विचार गर्नुपर्ने अवस्था आएको उनले औल्याए। अहिले खेतबारी बाझो र विश्व विद्यालय खाली हुने अवस्था आएको भन्दै रोजगारी सिर्जना र प्राविधिक जनशक्ति निर्माण गर्ने शिक्षामा जोड दिनुपर्ने बताए । अधिकारी यो हिउँदे अधिवेशनमा आज पहिलोपटक बोलेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1