पोखरा सराङकोटमा भएको श्रीमदभागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव  बुधबारदेखि सकिएको छ। महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान सङ्कलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए। 

यसअघि मङ्गलबारसम्म २ करोड ८ लाख दान सङ्कलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो। योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत सङ्कलनको लक्ष्य राखेको ३ करोड करिव पुरा भएको छ। 

आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बहुउद्देश्यीय सामुदायिक भवनको उद्‌घाटन भएको छ । त्यस अवसरमा भनाई राख्दै महानगर प्रमुख आचार्यले सराङकोट धामको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास लिए। ‘अब पर्यटक हिमाल हेर्न, सूर्योदयसूर्यास्त अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अव कोट मात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन्’ प्रमुख आचार्यले भने । प्रमुख आचार्यले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउदै सराङकोट धार्मिक पर्यटकीय स्थल भएको औँल्याए।

 सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको जनाउदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे । ‘वास्तवमै सराङकोट स्वर्गको टुक्रा हो, यसको हामी सबै मिली संरक्षण एवम् प्रवर्द्धन गर्नुपर्दछ, त्यसैमा आम पोखरेलीको कल्याण छ’, उनले उल्लेख गरे।

 यज्ञका सहअध्यक्ष समेत रहेका वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चित भएको स्पष्ट पार्दै उत्साहजनक सहभागिताका बीच यज्ञ सफल भएको धारणा राखे। कार्यक्रममा  प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतम सहित सहयोगी विभिन्न सङ्घसंस्था एवम् व्यक्तिलाई सम्मान गरियो। 

महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव १ लाख ६० हजार भक्तजनले सहभागि जनाएको महायज्ञका महासचिव शमशेरबहादुर थापाले जानकारी दिए ।यि मध्ये करिव ६० प्रतिशत अन्नपूर्ण केवलबारे मार्फत तथा अन्य महायज्ञका निःशुल्क वस एवम् स्वतस्फुर्त रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ ।

 सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ। यहि फागुन १४ गते महाशिवरात्रीको दिनदेखि सुरु उक्त सराङकोट यज्ञको यसअघि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्‌घाटन गरेका थिए । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको समापन समारोहमा वडाध्यक्ष तिमिल्सिनाले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0