पोखरा । बेगनास युवा क्लबद्वारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि मिक्की एफ सि रामबजारले हात पारेको छ । बिहीवार सम्पन्न फाइनल खेलमा विनोद मेमोरियललाई १–० को गोल अन्तरले हराउँदै मिक्कि एफ सिले उपाधि हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद रु १ लाख २५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफ सिले पहिलो हाफको २० मिनेटसम्म कुनै गोल गर्न नसकेता पनि त्यसपछि थपिएको अतिरिक्त १ मिनेटको समयमा लिले गुरुङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै विनम गुरुङले डि बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यहि १ मात्र गोल नै मिक्कीका लागी उपाधि जित्न निर्णायक बनेको हो ।
खेलको दोश्रो हापपछि पनि दुवै टिमले प्राप्त गरेका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन् । विनोद मेमोरियलका विकास परियारले उपलब्ध गराएको पासलाई अनुज भण्डारीले हेड गर्दै गरेको प्रयास गोल पोष्टको बारमा लागेर फर्किएको थियो । खेलको ३६ औं मिनेटमा विनोद मेमोरियलका अनुज भण्डारीलाई डबल ट्याकल गर्दै फल गरेपछि मिक्कि एफ सि को तर्फबाट १ मात्र गोल गर्न सफल विनम गुरुङ रेड कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए । त्यसपछि मिक्की एफ सि कमजोर अवस्थामा पुगेपनि बराबरी गर्नुपर्ने दबाबमा रहेको मेमोरियलले कुनै गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनुपर्यो ।
उप विजेता बनेको विनोद मेमोरियलले नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा एन के क्लबले उत्कृष्ट अनुशासित टिमको उपाधिसँगै नगद रु ८ हजार प्राप्त गरेको छ भने मिक्की एफ सिका अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ उच्च गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भएका छन । उनीहरुले उपाधिसँगै जनही रु ५/५ हजार प्राप्त गर्न सफल भएका छन ।
फाइनल खेल शुरु हुनु अघि समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले बेगनास सुन्दर पर्यटकीय स्थल भएको बताए । यहाँ खेलकुदको पनि प्रशस्त सम्भावना रहेको आफूले पाएको बताउँदै यस किसिमका प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । यस्ता प्रतियोगिताबाट राम्रा खेलाडीहरू उत्पादन गर्न सकिने बताउँदै यसरी आएका प्रतिभालाई राष्ट्रिय स्तरमा अगाडि बढाउन आफ्नो तर्फबाट पहल र प्रयास गर्ने प्रतिवद्धता जनाए ।
