पोखरा । थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रुपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुबै बोल्ने दरिलो आयाम समेत मानिन्छ कविता । कविताको कर्म यहीँ मानिन्छ । कविकै विचारमा कविताको कर्म के हो त ? कविता चेतनाको कलात्मक विधा रहेको बताउँछिन् स्वतन्त्रता र समानताका पक्षमा लेख्ने कवि कल्पना चिलुवाल । पोखरामा जारी १२ औँ एनसेल फाउण्डेसनको तेस्रो दिनको ‘कविताको कर्म’मा बोल्दै चिलुवालले कविताले चेतनाको अग्रपक्ष बोकेर हिँडेको सुनाइन् । पछिल्लो दशकमा कविलाई हेर्ने दृष्टिकोणपनि बदलिएको उनले बताइन् ।
‘केही दशक पहिला कवि भन्ने बित्तिकै एउटा झुत्रो कपडा लगाएको मैलो कपडा लगाएको चप्पल पड्काउँदै हिँड्ने एउटा बिम्ब स्थापित गरिएको थियो । अहिले आइसक्दा त्यो बिम्ब चाहिँ विस्तारै विस्तारै फेरिँदै गएको छ । हरेक समाज परिवर्तनको आन्दोलनहरूमा राजनीतिक परिवर्तनको आन्दोलनहरूमा कहीँन कहीँ कवितालाई इतिहास देखिने प्रयोग गर्दै आइरहेको छ,’ चिलुवालले भनिन् । कविताको छोटो वाक्यांशले समेत मान्छेको मस्तिष्कलाई झंक्रित पार्न सक्ने उनको भनाइ छ ।
‘कविताले कहिलेकाँही चेतनाको यति चाहिँ अग्रपक्ष बोक्छ कि त्यो कविता सुन्दा हामीलाई चाहिँ तत्काल हाम्रो सोच विश्वासमा कताकता भूइँचालो ल्याइदिन सक्ने सामथ्र्यपनि कविताले ल्याइदिन सक्छ,’ चिलुवालले भनिन् ।
सूक्ष्म भन्दापनि सूक्ष्म कुरा बोकेर विशाल आयाम ग्रहण सक्ने कविताको क्षमता रहेको चिलुवालले बताइन् ।
कविता जटिल र गहिरो विषय रहेको बताउँछन् कवि तथा गीतकार रमेश क्षितिज ।
‘कविता विषय जटिल हो । साहित्यकै अरु विधाको पनि कविता मूर्तताको, लोकप्रियताको, उद्देश्यको कुरा हामी जब गर्छौँ । त्यो त्यति मूर्त देखिँदैन । कवितामा कर्ममा किन लागियो भन्ने अत्यन्त गहिरो प्रश्न हो त्यो प्रश्नको उत्तर मैले अहिलेपनि खोजिरहेको छु । कविताले के दिन्छ समाजलाई भन्ने कुरा धेरै बहसको विषय हुनसक्छ,’ क्षितिजले भने ।
उनको विचारमा कविताले होशपूर्वक बाँच्ने तरिका र मूल्य दिन्छ । गाउँमा रेडियोमा कविता सुनेर हुर्किएर क्षितिज कविताको पुस्तक पढ्दै कवितासँग साक्षात्कार भएको बताउँछन् ।
कविले समाजमा नजरअन्दाज गरेको विषय शब्द मार्फत उतार्ने बताउँछन् उर्दू साहित्य फाउन्डेसनका अध्यक्ष तथा कवि र सायर सहर महमुद ।
‘म जून ठाउँबाट आउँछु त्यो ठाउँमा सायद जन्मिन्छ । बन्दैन । जब उसलाई मौका मिल्छ तब उसको अन्तरआत्माबाट सायरी आफैँ निस्किन्छ । आम मान्छेले समाजमा देख्न नसकेका विषय सायरले देख्छ र आफनो अन्दाजले लेख्छ,’महमूदले भने ।
महमूदको भनाइमा सहमत हुँदै कविताले क्षितिजले समाजको प्रतिविम्बि देखाउने बताए । ‘कविताको मूल मर्म भनेको समाजमा देखिरहेका कुराहरुलाई प्रतिविम्बित गर्ने हो । मान्छेले कल्पना नगरेको समाजमा नभएका कुराहरु आउने कुरा होइन । तथापि कविको कर्म भनेको उज्यालोतिर हिँड्नु हुन्छ,’कवि क्षितिजले भने ।
कविले मुक्ति र स्वतन्त्रताको लागि भूमिका खेल्ने बताउँछन् क्षितिज । ‘समाजमा जे छ त्यो कुरा अँध्यारो छ भने अँध्यारोको पनि गीत गाइन्छ । त्यो गाउने कुरा चाहिँ कविता हो । कविता मानिसको जीवन सँग जोडिने कुराहरु गर्छौ । त्यो समाज भन्दा बाहिर गएर आउने कुरा होइन । समाजमा विकृति, गरिबी छ समस्या छ तर त्यसको बाबजुदपनि मानिसले खोज्ने मुक्ति स्वतन्त्रता न्यायका गीतहरु खोजेर कविले हिँड्छ,’ क्षितिजले भने ।
सो सत्रलाई गणेश खनियाले सहजीकरण गरेका थिए ।
