पोखरा । पर्यटकीय गाउँ ल्वाङमा आयोजित ‘सिनेमा संवाद’ मा अभिनेता निखिल उप्रेतीले खिरमा ल्वाङ हाल्ने किन नहाल्ने विषयलाई द्वन्द्वको परिभाषामा सजिलो तरिका पस्किए । उनले भने, ‘खिर पकाउँदा ल्वाङ नहाले पनि खिर त बन्छ नि । खानलायक बन्छ तर ल्वाङ हालिसकेपछि त्यसले दिने काम त्यत्तिकै उपयोगी हुन्छ ।’

चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाले बर्सेनि आयोजना गर्दै आएको सिनेमा संवादको चौथो संस्करण ल्वाङमा लगेको थियो । विभिन्न चार सेसनमा चलचित्रका हरेक कोणको घनीभूत छलफल भएको उक्त कार्यक्रमको तेस्रो सेसनमा थिए–एकताका निकै चम्किएका स्टन्डनायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डित । सञ्चारकर्मी सन्जोक बस्यालले सहजीकरण गरेको सो सेसनमा ‘सिनेमामा द्वन्द्व : दर्शकको माग कि उद्योगको दबाब ?’ विषयमा गफिदै अभिनेता उप्रेतीले सिनेमामा द्वन्द्व राख्दा त्यसको आवश्यकताबारे प्रस्ट पार्नुपर्ने जोड दिए । उनले अगाडि भने, ‘चलचित्रमा द्वन्द्वलाई राम्रो तरिकाले व्यक्त गरिएको हुँदैन । द्वन्द्व व्यक्त गरे पनि द्वन्द्व हुनुको घटनालाई गरिएको हुँदैन ।’

लेखक तथा निर्देशक पण्डित चाहिँ फिल्ममा पात्रले जुन कुरा गर्छ, उसमा आउने असहज परिस्थिति द्वन्द्व हो भनी परिभाषित गर्छन् । उनले महाभारतको कथालाई उदाहरण दिँदै भने, ‘महाभारतको सबैभन्दा बढी सम्झना हामीलाई आउने भनेको जब अर्जुनले भगवान् कृष्णलाई रथ रोक्न खोज्नु हो, त्यो सबैभन्दा ठूलो द्वन्द्व थियो । म लडौ कि नलाडौ भन्ने द्वन्द्व थियो ।’ अब नेपाली फिल्ममा ‘द्वन्द्व’ भनी लेख्नु नहुने उनको जोड छ । उनले भारतीय फिल्मको पनि उदाहरण दिँदै त्यहाँ द्वन्द्व नभनी थ्रिल, एक्सन लेख्ने चलन भएको जानकारी दिए ।

यसैबीच, अभिनेता उप्रेतीले तत्कालीन समयमा नेपाली फिल्म उद्योगले आफूलाई ‘बिकाउ’को रुपमा प्रयोग गरेको जनाए । निकै आध्यात्मिक सुनिने उप्रेतीले संवादका क्रममा कतिपय विषय निकै दार्शनिक ढङ्गले पस्के । उनले भने, ‘द्वन्द्वसँग हामी सबैजना बहुत प्रभावित छौँ । बाटोमा दुईजना मानिस झगडा भएको देख्यौ भने सारा चिज बिर्सेर हेरेर बस्छौं । द्वन्द्वसँग हाम्रो गहिरो सम्बन्ध छ । मानसिक अवस्थासँग छ । यो हाम्रो कमजोरीसँग छ । जति मानिस आफ्नो दबिएको भावना हुन्छ, त्यति द्वन्द्व अर्को व्यक्तिमा हेर्न चाहन्छ ।’

उनले अगाडि भने, ‘विश्वभरिको चलचित्र उद्योगमा सबैभन्दा धेरै द्वन्द्वकै फिल्म बन्छ । लिडिङ फिल्म इन्डष्ट्रिजले द्वन्द्वको फिल्म नै बनाउँछ । हलिउडले ६० प्रतिशत त एक्सन मुभी नै बनाउँछ । त्यसभित्र धेरै कारण छ ।’ उनले विश्वमा कुनै न कुनै पार्टमा द्वन्द्व रहेको उल्लेख गरे । पृथ्वी कहिल्यै पनि द्वन्द्वबाट अलग हुन नसक्ने ठोकुवा पनि गरे । उनले, ‘द्वन्द्व यदि जस्टिफाइ छैन भने त्यो झगडामा परिणत हुन्छ । द्वन्द्वको स्पष्टता हुनुपर्छ ।’

उनले भने, ‘समाजमा सबै व्यक्ति सम्झाएर सम्झिन सक्दैनन् । यदि सम्झिने भए युद्धको अवस्था नै आउने थिएन । कोही व्यक्ति सुतेको ठाउँमा उभिदियो भने मात्र उठिहाल्छ, तर जति झक्झक्याँदा पनि उठ्दैन । त्यसबेला द्वन्द्व जरुरी हुन्छ ।’ उनले द्वन्द्व भएको फिल्म बनाउन पनि साहस चाहिने बताए । उनले जहाँ घाउ छ, त्यहाँको दुःखको व्यापार हुन्छ भने । ‘पर्दामा देखाइएको एक किमिसको घाउ हो, यहाँ घाउको व्यापार हुन्छ,’ उनले भने, घाउ सदा बिक्छ । आँसुजति झुठ कुनै हुँदैन । प्रेममा पनि खस्छ, दुःखमा पनि खस्छ ।’

यसैबीच, नेपाली बजारबाट विदेशी चलचित्रले करोडौं लिएर गएकोमा उनले दुःख व्यक्त पनि गरे । भने, ‘एउटा विदेशी चलचित्रले देशमा २५ देखि ३० करोडको हाराहारीमा ब्यापार गरेर लैजान्छ, तर नेपाली दाजुभाइ त्यति कमाउन विदेशमा कति दुःख गर्नुपर्छ ।’

लेखक तथा निर्देशक पण्डितले सोही विषयमा असहमति जनाउँदै नेपाली फिल्म राम्रो नबन्दा विदेशी फिल्म हावी भएको तर्क गरे । उनले भने, ‘हामीले नेपाली दर्शकलाई इन्टरटेन दिनेखालका फिल्म बनाउन सकेका छैनौं । अनि द्वन्द्व चाहिँ हामीभित्र चलिरहेको हुन्छ । १० प्रतिशतले फिल्मले दर्शकलाई रुवाए, ९० प्रतिशत फिल्मले निर्मातालाई रुवाए ।’ उनले कुनै पनि राम्रो सिनेमाले दर्शकलाई अनुभूति भने गराउने बताए । उनले भने, ‘फिल्म एक्सपिरियन्स हो । राम्रो फिल्मले ज्ञान दिन्छ । र, मानिस इन्टरटेन नभइकन ज्ञान लिँदै लिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0