पोखरा। चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ ल्वाङमा सिनेमा संवाद सुरु भएको छ । उक्त कार्यक्रमको गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले क्लाप गरी उद्घाटन गरिन् ।
कार्यक्रम उद्घाटनपछि प्रेस रजिष्ट्रार भण्डारीले सिनेमाले समाजको कथा भन्ने भएकाले समाज रूपान्तरण र चेतना परिवर्तनमा संवाहक भएर अघि बढ्नुपर्ने बताइन् । ‘सिनेमा केवल मनोरञ्जनको साधन मात्र होइन, यो त आमसञ्चारको एउटा यस्तो सशक्त माध्यम हो, जसले बहुसङ्ख्यक नागरिकलाई समाजको कथा भन्छ र ऐना देखाउँछ,’ उनले भनीन्, ‘हामी भन्ने गर्छौँ— कलाकार राज्यका गहना हुन्। तर कलाकार केवल देखाउनका लागि मात्र गहना होइनन्, उनीहरू त समाज रूपान्तरण र चेतना परिवर्तनका वास्तविक संवाहक हुन् ।’
चलचित्र विचारको संवाहक, संस्कृतिको रक्षक र आर्थिक समृद्धिको सशक्त इन्जिन रहेको उनको धारणा थियो । ‘हामीले सधैँ भन्दै आएका छौँ— चलचित्र समाजको ऐना हो। तर मेरा लागि चलचित्र केवल ऐना मात्र होइन, यो विचारको संवाहक, संस्कृतिको रक्षक र आर्थिक समृद्धिको सशक्त इन्जिन पनि हो,’ उनले भनीन्, ‘घान्द्रुक, सिक्लेस र घलेगाउँ हुँदै आज ल्वाङ गाउँ आइपुग्दा यो संवादले एउटा गम्भीर बौद्धिक घनत्व र सांस्कृतिक गुरुत्व प्राप्त गरिसकेको छ ।’
डिजिटल युगमा मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसन (भ्रमपूर्ण र मिथ्या सूचना) समाजका लागि ठूलो चुनौती चिर्न चलचित्रले पनि भूमिका खेल्नुपर्ने उनको धाराणा थियो । ‘आजको डिजिटल युगमा मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसन (भ्रमपूर्ण र मिथ्या सूचना) समाजका लागि ठूलो चुनौती बनेका छन्,’ उनले भनीन्, ‘यस्तो बेला कलाकारहरू विज्ञापनमा देखिने माल मात्र बनेर पुग्दैन, उनीहरूले समाजको रोल मोडल बनेर सत्य र तथ्यका पक्षमा उभिनु आवश्यक छ। कलाकारले दिने एउटा सकारात्मक सन्देशले समाजलाई भ्रमको अँध्यारोबाट मुक्त गर्न ठूलो भूमिका खेल्न सक्छ ।’
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सिता अधिकारीले पर्यटकीय गाउँ ल्वाङ होमस्टेमा भएको कार्यक्रमले समग्र गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइन् । ‘हाम्रो गाउँपालिकामा ल्वाङ गाउँ मात्र नभएर घलेल गाउँ, मर्दी हिमाल, क्यानोनिङ, धम्पुस गाउँ, घाचोक, खुमाई, कोर्चां धेरै धेरै पर्यटकीय क्षेत्रहरू छन्,’ उनले भनीन्, ‘यस सिनेमा संवादले हाम्रो पालिकामा भएको पर्यटकीय क्षेत्र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौ ।’
माछापुच्छ्रे गाउँपालिका वडा ८ का वडाध्यक्ष राम गुरुङले आफ्नै गाउँमा रहेको माछापुच्छ्रे हिमालकै कारण पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको दाबी गरे । उनले गाउँमा दुःखमात्र नभई सुख पनि रहेको चर्चा गरे । गाउँमा आएर सिनेमा संवाद गरिएकोमा आयोजकप्रति खुसी व्यक्त गरे ।
चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संघको स्थापनाबारे चर्चा गरे । उनले सिनेमा संवाद लगायतका गतिविधिले समग्र पक्षको विकासमा सघाउ पुग्ने बताए ।
संघका पूर्व अध्यक्ष अरुण गिरीले समाजबिना सिनेमा रहँदैन भन्दै उनले गाउँले सिनेमा बुझोस्, सिनेमाले गाउँ बुझोस् भन्ने ध्येयले सिनेमा संवाद सुरुवात गरिएको बताए ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालले सिनेमा संवाद पछिल्लो समय ब्राण्डको रुपमा स्थापित हुँदै गएको चर्चा गरे । संघका अध्यक्ष सन्तोष बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य सुरज थापा र संचालन सचिव सुरेश सुनारले गरे ।
सिनेमा संवादको दोस्रो दिन शनिबार विभिन्न ४ सेसनमा सिनेमाका विभिन्न पक्षमा रहेर संवाद हुँदैछन् । बिहीबार राती ल्वाङमै सिनेमा साँझ भएको थियो । सिनेमा संवादमा कलाकार, पत्रकार, स्थानीयवासीको उपस्थिति छ । सिनेमाको पर्दामा देखिने कलाकार गाउँमै देख्दा गाउँलेहरु पनि दंग परेका छन् ।
नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको चलचित्र पत्रकार संघ, नेपाल, कास्कीका अध्यक्ष सन्तोष बस्यालले जानकारी दिए । यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला ल्वाङमा हुन लागेको हो ।
संघका अध्यक्ष बस्यालका अनुसार कार्यक्रममार्फत चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबीच अर्थपूर्ण संवादको वातावरण सिर्जना गर्दै समसामयिक विषयमा अनुभव आदान–प्रदान तथा सिर्जनात्मक बहस गरिनेछ । यसपटक ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ जस्ता विषयमा बहस हुनेछ ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा नायिका आचल शर्मा, नायक सलोन बस्नेत र नायिका सनिशा भट्टराई वक्ताका रूपमा रहनेछन् भने सहजीकरण चलचित्र पत्रकार उत्सव रसाइलीले गर्नेछन् ।
‘सिनेमामा द्वन्द’ विषयमा नायक निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डितले धारणा राख्नेछन् भने संवादकर्ता संजोक बस्याल रहनेछन् । ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा लेखक–निर्माता सामिप्य तिमिल्सिना र नायिका बेनिशा हमाल वक्ताका रुपमा सहभागी हुनेछन् भने सहजीकरण संचारकर्मी विमला थापाले गर्नेछिन् । ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहनेछन् भने सहजकर्ता चलचित्र पत्रकार सन्ध्या थापा रहनेछिन् ।













