पोखरा ।  नेपाली सिनेमाले विस्तारै विश्व बजारमा प्रतिनिधित्व जनाउँदै जाँदा यसले राम्रो सङ्केत दिएको विषयमा चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको आयोजनामा चौथो संस्करणको सिनेमा संवादअन्तर्गत विभिन्न सेसनमा घनीभूत छलफल भयो । 

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ८, ल्वाङमा शनिबार पहिलो सेसनमा ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ विषयमा अभिनेत्री बेनिशा हमाल र लेखक, निर्देशक एवं निर्माता सामिप्यराज तिमिल्सिनासँग सञ्चारकर्मी विमला थापाले भलाकुसारी गरिन् । 

संवादका क्रममा नेपाली सिनेमाको बजार बिस्तारै ग्लोबल मार्केटमा पुगिसकेको र यसको अब विकास र बिस्तार आवश्यक रहेकोबारेमा चर्चा भयो । सहजकर्ता थापाले नेपाली फिल्म ग्लोबलमा मार्केटमा कहिले छिर्छ भन्ने जिज्ञासामा चलचित्र समीक्षकसमेत रहेका तिमिल्सिनाले भने, ‘ग्लोबल मार्केटमा हामीहरू छिरिसक्यौं, अब कति हल्ला मच्याउने भन्ने बाँकी छ ।’ 

मीन भाम निर्देशक नेपाली फिल्म ‘शाम्बाला’ अघिल्लो वर्ष बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको इतिहासमै नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो । कान्स फिल्म फेस्टिभलमा समेत नेपालले सहभागिता जनाइसकेको छ । जबकि ठूलो उद्योग मानिएको भारतले समेत नेपालजस्तो एचिभ गर्न नसकेको तिमिल्सिनाको भनाइ थियो । उनले बाँकी धेरै उद्योगको तुलनामा नेपाली फिल्म उद्योग ग्लोबल मार्केटमा पुगेको चर्चा गरे । 

उनका अनुसार ‘उनको स्वीटर’ले अष्ट्रेलिया, न्युजिल्याण्ड, युएईको मार्केटबाट मात्रै ६ करोडको ब्यापार गरेको छ । ‘जेरी एण्ड टप’ले अष्ट्रेलियाबाट साढे ३ करोडको व्यापार गरेको छ । यी दुई फिल्मले भारतीयको मार्केटमा पनि ३ करोडको जति बिजनेस गरिसकेका छन् ।

अभिनेत्री बेनिशा हमालले फिल्म करियरको सुरुआती समयमा विदेश घुम्दा बल्र्ड सिनेमा कस्तो हुँदोरहेछ भन्ने बुझ्ने मौका मिलेको स्मरण गरिन् । करिब १० वर्षअघि ‘कालोपोथी’ फिल्मको हिस्सा भएका कारण टोकियो र सिङ्गापुरमा भएका फिल्म फेस्टिभलमा जाँदा आफू एक्सपोजर हुने मौका मिलेको पनि बताइन् । उनले भनिन्, ‘विगतमा धेरै कुरा थाहा थिइन । बल्र्ड सिनेमा कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । त्यहाँ नजिकबाट धेरै सिनेमा हेर्न पाइयो ।’

एक अर्को प्रसङ्गमा नेपाली फिल्मको कथा बलियो छ भने पैसा नहुँदैमा खुम्चिनुपर्ने अवस्था नभएको वक्ताहरूले बताए । तिमिल्सिनाले भने, ‘कथा राम्रो भयो भने अहिले पैसा छैन भनेर खुम्चिएर बस्नुपर्ने छैन । पैसा हाल्नका लागि दुनियाँ तयार छ ।’ पोखराको लामाचौरमा सुटिङ भएको उनको ‘एकमुठ्ठी बादल’ को कलरको काम थाइल्याण्डमा भइरहेको छ । साउण्डको काम भारतमा भएको जनाए । 

ग्लोबल मार्केटका लागि कुनै फेस्टिभलमा फिल्म छानियो भने त्यो फिल्म किन्न विदेशका वितरक इच्छुक हुन्छन् । ओटिटी राइट पनि किन्ने गरेको उनले सुनाए ।  संवादका क्रममा नेपाली फिल्म ज्यादै प्रयोग भएको समय अहिले भएको बताइयो । तिमिल्सिनाले भने, ‘नेपाली फिल्म ज्यादै एक्सपेरिमेन्ट भएको समय नै अहिले हो । रोनाधोना मात्रखालका फिल्म छैनन् ।’ उनका अनुसार गत वर्ष पाँच दर्जन जति फिल्म रिलिज भए । निकै रोचकखालका फिल्म पनि बने । तर तिनीहरुमध्ये केहीले बक्स अफिसमा त्यो लेभलमा प्रुफ गर्न सकेनन् । 

अभिनेत्री बेनिशाले पनि हामीसँग कथाको कमी नभएको उल्लेख गरिन् । नेटफिक्स, ओटिटीमा समेत नेपाली फिल्म लैजान सरोकारवाला निकायले पनि अझ पहल गर्नुपर्नेमा संवादमा विषय उठान भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0