पोखरा। राष्ट्रपति रामचन्द्र पौडेल पोखरा आउने भएका छन् । सराङकोटमा जारी श्रीमदभागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवका उद्घाटन गर्न उनी शनिबार पोखरा आउने भएका हुन्। त्यसका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान १० बजे काठमाण्डौबाट सिधै सराङकोट धाम झर्ने राष्ट्रपतिको कार्यतालिका छ । राष्ट्रपति पौडेलले महोत्सवसँगै सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखी गणेश मूर्ति, कैलाशेश्वर शिव मन्दिर लगायतका देवालय, १०८ शिवलिङ तथा धाराको पनि उद्घाटन गर्नेछन् ।
सराङकोटमा हुने समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पनि सम्बोधन गर्ने भएको सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए ।
सराङकोटमा राष्ट्रपति पुग्ने भएसँगै कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायमा प्रमुख एवम् प्रतिनिधिले सराङकोटको अवस्थाबारे स्थलगत रूपमै पुगी यसअघि नै बुझिसकेका छन् ।
सराङकोटमा यही फागुन १४ गते शिवरात्रीको दिनदेखि श्रीमदभागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ । महाउत्सवको तेस्रो दिनसम्म ६५ लाख भन्दा बढी दान सङ्कलन भएको छ ।
शुक्रबार पोखरा ८ पृथ्वीचोक निवासी पण्डित ज्योतिष लिलाधर पौडेल परिवारबाट पाँच लाख ११ हजार १ सय ११, कास्कीकोट सराङकोट आमा समूहबाट रु.५१ हजार ५ सय ५५, राष्ट्रिय परोपकार महासङ्घ पोखरा १५ बाट रु.२५ हजार ७ सय ८५ तथा अन्य दाताको समेत गरी १० लाख बढी रकम सङ्कलन भएको महायज्ञका कोषाध्यक्ष शिवप्रसाद कोइरालाले जानकारी दिए।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्यु टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।
सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । महाउत्सवका अवसरमा सामूहिक व्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा सङ्गीतमय भजन कीर्तन भइरहेको प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।त्यहाँ भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिरहेका छन् ।
