पोखरा । नृत्यकार तथा मोडल सुरज गुरुङ लाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गुरुङ मृगौला फेलियर रोगसँग संघर्षरत रहेका छन् । तरेली साँस्कृतिक परिवार अन्तर्गत गठन गरिएको “सुरज गुरुङ बचाऔं अभियान समिति” को अगुवाइमा संकलित रकम हस्तान्तरण गरिएको हो ।
हाल नेपाल मेडिसिटी अस्पताल मा उपचाररत कलाकार गुरुङका लागि संकलित सहयोग रकम उनका बुबा सोम बहादुर गुरुङ, आमा हरीमाया गुरुङ तथा दिदी मनमाया गुरुङलाई हस्तान्तरण गरिएको थियो । समितिका संयोजक एवं तरेली साँस्कृतिक परिवारका अध्यक्ष राज बहादुर गुरुङ, प्रमुख अतिथि पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति तथा तरेली साँस्कृतिक परिवारका मानार्थ सदस्य पदमराज ढकाल, मानार्थ सदस्य तारा बहादुर गुरुङ लगायतले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै समिति संयोजक राज बहादुर गुरुङले हालसम्म समितिको अगुवाइमा १४ लाख ९ सय रुपैयाँ संकलन भएको जानकारी दिए । साथै कमल गुरुङको पहलमा ६७ हजार २ सय ७२ रुपैयाँ र हिमाली साँस्कृतिक परिवारको पहलमा ५० हजार ५० रुपैयाँ सहयोग प्राप्त भएको उल्लेख गर्दै हालसम्म कुल १५ लाख १८ हजार १ सय ७७ रुपैयाँ सहयोग हस्तान्तरण गरिसकिएको बताए । उनले पुन क्लब जापानले९० हजार ४ सय ३६ संगलन गरेकाे तथा अन्य व्यक्ति तथा संस्थाबाट सहयोग आउने क्रम अझै जारी रहेको जानकारी समेत दिए ।
२०५८ सालमा स्थापना भएको तरेली साँस्कृतिक परिवार ले नयाँ कलाकार उत्पादन, लोकनृत्यको संरक्षण तथा संवर्द्धनसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
कार्यक्रममा समितिका सदस्य एवं नृत्य निर्देशक साजन गुरुङ ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव रवीन गुरुङ ले गरेका थिए ।














