पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजनामा आइतबारदेखि सुरु भएको पत्रकारितामा मल्टिमिडिया तथा एआई सम्बन्धी तालिम सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा र नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जाल (निमजिन) को प्राविधिक सहयोगमा भएको तालिम मङ्गलबार सकिएको हो । तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत ७५ जना पत्रकारहरू सहभागी थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई नेपाल पत्रकार महासङ्घ, कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्र सेनानी माधव शर्माले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी शर्माले अहिलेको समय एआई र मल्टिमिडियाको भएको उल्लेख गर्दै उनले यसको बढ्दो दुरुपयोगप्रति चिन्ता व्यक्त गरे । प्रविधिको विकास र बदलिँदो परिवेशसँगै पत्रकारिता क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको उनको भनाइ थियो । एआईको माध्यमबाट व्यक्तिहरूको चरित्र हत्या गर्ने वा नभएका दृश्यहरू सिर्जना गर्ने काम भइरहेकाले यसको सही प्रयोगमा ध्यान दिनुपर्ने उनले सुनाए ।
समाचारलाई पटक–पटक मिति बिना नै प्रसारण गर्दा जनमानसमा अनावश्यक त्रास पैदा हुने विषयमा उनले सजग गराए । नयाँ पुस्ताका पत्रकारहरूले यस्ता भ्रमपूर्ण कार्यहरू रोक्नुपर्ने र जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा परीक्षार्थीद्वय रोजी श्रेष्ठ र तुलसीराम सुवेदीले प्रविधिको युगमा प्राविधिक ज्ञान हासिल गरेका बताएका थिए । तालिममा सिकेका सीपलाई पत्रकारितामा भरपुर प्रयोग गर्ने उनीहरूको प्रतिवद्धता थियो । तालिममा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग तथा एआई प्रविधिको प्रयोगसम्बन्धी विषयमा प्रशिक्षण दिइने नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले जानकारी दिए ।
















