पोखरा । यही फागुन २५ गतेदेखि शुरु हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी गण्डकी प्रदेशमा छनोट प्रक्रिया सुरु भएको छ । गण्डकी प्रदेश क्रिकेट सङ्घले नेपाल क्रिकेट सङ्घ क्यानमा आबद्ध ६ वटा जिल्लाका खेलाडीहरूलाई समेटेर आइतबारदेखि छनोट प्रतियोगिता सुरु गरेको हो ।
आयोजक गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार छनोट प्रतियोगिता फागुन १८ गतेसम्म चल्ने छ । केही नयाँ र सिनियर टोलीमा खेलिसकेका तथा उमेर समुहमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीहरूलाई छनोट प्रतियोगितामा समावेश गरिएको छ । लुम्बिनी प्रदेशको रूपन्देहीमा रहेको सिद्धार्थ रङ्गशाला र एक्स्ट्राटेक ओभल क्रिकेट मैदान तथा दाङको लमही क्रिकेट मैदानमा सञ्चालन हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटमा कम्तिमा पनि सेमिफाइनलमा पुगेर ईलाईट कप खेल्नेगरी गण्डकी प्रदेश क्रिकेट सङ्घले तयारी गरिरहेको छ ।
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका सबै खेल पहिलो पटक काठमाडौंबाहिर हुन लागेको हो । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टोली सहभागी हुनेछन् । सिद्धार्थ रङ्गशालामा फाइनलसहित १० वटा खेल हुनेछ यस्तै एक्स्ट्राटेक ओभलमा १५ र लमहीमा १४ वटा खेल हुनेछ । प्रधानमन्त्री कप चैत १६ गतेसम्म चल्ने छ । छनोट प्रतियोगितामा कास्की सहित स्याङ्जा, तनहुँ, नवलपुर, पर्वत र बागलुङका खेलाडीहरू सहभागी छन् । गण्डकी प्रदेशमा पहाडी जिल्लाहरू धेरै भएका कारण अन्य खेल बढि मात्रामा खेल्ने गरिन्छ । अध्यक्ष सिग्देलले क्रिकेट कल्चर विकास हुने क्रममा नै रहेको र एउटा मात्र स्टेडियम भएर पनि नेपाली क्रिकेटमा अन्तराष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीहरू उत्पादन गरिसकेको बताए ।
छनोटमा तनहुँले विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा तनहुँले बागलुङ विरुद्ध ११४ रनको जित दर्ता गरेको हो । बागलुङले टस आफ्नो पक्षमा राख्दै तनहुँलाई इनिङको सुरुवात गर्न बोलाए पछि ४२ ओभरमा पुरै विकेट गुमाउँदै २१० रन बनाउन सफल रह्यो । तनहुँको पारीमा खेलको म्यान अफ दि म्याच समेत रहेका विशाल बुढा मगरले ६८ बलमा १० चौकाका साथ ६० रन बनाए भने सुप्रिम सुनारले ५० रन जोडे । दिपेश अधिकारीले व्यक्तिगत ३७ रनको योगदान दिए । बागलुङका बलर सञ्चार निउरेले उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा २६ रन दिएर ४ विकेट हात पारे भने मुकेश ओझाले २ विकेट आफ्नो नाममा लेखाए ।
२११ रनको लक्ष्य पछ्याएको बाग्लुङ २९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो । बाग्लुङका ब्याटर नट आउट रहँदै आश्विन थापाले २० रन जोड्दा दिपेश कुँवरले १५ र चन्द्रदिप यादवले ११ रन बाहेक अन्यले दोहोरो रन जोडन सकेनन् । तनहुँका बलर चन्द्रकान्त पौडेलले ३, सन्दिप पराजुली, रमेश शाह र एलिक श्रेष्ठले समान २–२ विकेट लिए । सोमबारको खेल स्याङजा र बागलुङका बीच हुने अध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।
