पोखरा । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नेपालीका प्रमुख चाडपर्वले आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ ले शुक्रबार विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले चाडपर्वका बेला किनमेललगायत आर्थिक गतिविधि बढ्ने भएकाले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताएका हुन् ।
उनले चाडपर्वले आपसी भ्रातृत्व, एकता र मेलमिलापको भावना विकास गर्ने उल्लेख गर्दै प्रकृतिमा जीवित रहन पाउनु नै सबैभन्दा ठूलो उपहार भएको बताए । जीवन रहँदासम्म आफ्नो नित्य कर्म पूरा गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिका कुमारी शाही योगीले वडा प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण रहेको बताइन् । माछापुच्छ्रे हिमालको छाया फेवातालमा पर्ने क्षेत्रसमेत वडा नं. १७ मा रहेको उल्लेख गर्दै उनले पोखराको पर्यटन व्यवसायको सुरुवातमा यस क्षेत्रको महत्वपूर्ण योगदान रहेको दाबी गरिन् ।
वडामा घरधुरीको संख्या निरन्तर बढिरहेको बताउँदै वडाध्यक्ष योगीले वडा नं. १७ राजस्व संकलनका दृष्टिले पनि महत्वपूर्ण रहेको उल्लेख गरिन् ।वडाध्यक्ष योगीले चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्दै विपद्को सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको बताइन् । सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा एकता टोल विकास संस्थाका अध्यक्ष शिवलाल उपाध्याय, जागरण महिला समूहकी अध्यक्ष कोपिला भण्डारी, पोखरा–१७ का वडा सदस्य विक्रम गुरुङ तथा वडा सचिव सुरेन्द्रप्रसाद शर्मालगायतले नेपालीका महान् चाडपर्व र वडाका गतिविधिबारे धारणा राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिकाको कार्यालयमा सरुवा भई जान लागेका वडा सचिव शर्माको बिदाइ तथा फेरि भेटौँला कार्यक्रमसमेत सम्पन्न भएको थियो ।
कार्यक्रममा वडाभित्रका टोल विकास संस्थाका प्रतिनिधि, आमा समूहका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।















