पोखरा । पोखरामा नाटक ‘मुनामदन’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको यो नाटक फागुन ९ गते शुक्रबारबाट पोखरा गैह्रापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको हो । फागुन २४ गतेसम्म मञ्चन हुने नाटकमा मुना र मदनको अमर प्रेमलाई दर्शाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको मुनामदन खण्डकाव्यमा आधारित यो नाटकको परिकल्पना र निर्देशन परिवर्तनले गरेका छन् ।
नाटकमा परिवर्तन, कृष्टि गुरुङ, प्रमिला तुलाचन, रमेश तिमल्सिना, धनकाजी श्रेष्ठ, रञ्जु दाहाल, प्रकाश रेग्मी, उत्सर्ग सुवेदी, दिल बहादुर थापा, विकास फगामी मगर, विदिशा न्यौपाने, विष्णु कार्की, अर्जुन शर्मा, राहुल श्रेष्ठ, विनिता बयलकोटी, प्रतीक घिमिरे, अभिषेक भुसाल, श्रीकृष्ण भण्डारी लगायतको अभिनय हेर्न पाइन्छ । बालकलाकारमा आविरा अधिकारी रहेकी छन् ।
ध्वनि तथा शब्द संयोजन तथा लय सङ्कलन मिलन गिरीले गरेका छन् । किशोर सुवेदीले रेकर्ड गरेको गीतमा बाँसुरी र टुङ्नामा आर्जव पौडेलले साथ दिएका छन् । प्रशान्ती श्रेष्ठ, समीर पुन, अभिषेक भुसाल, प्रमिला गुरुङ र ऋचा सुवेदीको आवाजमा गीत सुन्न पाइन्छ । संगीत देवेन्द्र ढकाल विवेकको रहेको छ ।
तामाङ सेलो सङ्कलित लयमा चन्द्र दोङ र इन्दिरा गुरुङ तथा शेर्पा गीत सङ्कलित लयमा टिना गुरुङले सघाएका हुन् । यसका अलावा विकास अधिकारी, सुसन पौडेल, अमृत परियार, अप्सरा बयलकोटी, निशान सुवेदी समेत नाटक युनिटमा रहेका छन् ।
नाटकका निर्देशक तथा परिकल्पनाकार मुनामदनको गरिमा बचाउन चुनौती रहेको भन्दै झ्याउरे लयमा रहेको खण्डकाव्यलाई शास्त्रीय सङ्गीतको प्रयोग सहित दृश्यमा केही फरकपना दिन खोजेका बताए । यस अगाडि हेरिरहेको मुना मदन भन्दा यसमा केही न केही पृथकता महसुस गर्न पाइने उनको भनाइ छ । मुनामदन नाटक लेख्दाको तत्कालीन समय र अहिलेको समयको सान्दर्भिकतालाई नाटकमा जोड्न खोजिएको छ ।
प्रेमको कुरा मात्र नभएर यसले उठाएको रोजगारको लागि विदेश जाने सिलसिला तथा त्यसले ल्याएका विभिन्न उतार चढावलाई सुन्दर ढङ्गले पस्कने प्रयास नाटकमा गरिएको छ । महाकवि लक्ष्मी प्रसाद देवकोटाले मुनामदन लेख्दादेखि अहिलेसम्म नेपाली समाजमा भएका परिवर्तनको बारेमा समेत नाटकमा हेर्न पाइने उनले खुलाए ।
नाटक बुधबार बाहेक हरेक साँझ सवा ५ बजे र शनिबार अतिरिक्त सो को रुपमा दिउँसो १ बजे समेत मञ्चन हुनेछ । यो नाटकप्रति दिनप्रतिदिन दर्शकको चासो र साथ बढ्दै गएको थिएटरको भनाइ छ । नाटकलाई परिपक्क बनाएर दर्शकको माया बटुल्न नाटक युनिटले निकै मिहेनत गरेका छन् ।
१ घण्टा ४५ मिनेट अवधिको यो नाटक हेर्न २ सय, ३ सय र ५ सयको टिकट काट्नुपर्ने हुन्छ । माग भएको खण्डमा बुकिङ सो मार्फत समेत नाटक मञ्चन गरिने तयारी गरिएको छ ।
