पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हबको रुपमा विकास गर्नुपर्ने बताएका छन् । शनिबारदेखि पोखरा रङ्गशालामा सुरु भएको गण्डकी स्वजागरण अभियानको शुभारम्भ गर्दै उनले ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको सम्भावना बोकेको ठाउँ भएको बताए । यसको विकासका लागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै प्राथमिकता दिने उनको भनाइ थियो ।
यस वर्षपनि गण्डकी प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्वास्थ्य जीवनशैली अपनाउन योग तथा ध्यान कार्यक्रम समावेश गरेको छ । घरघरमा स्वजागरण गराउने लक्ष्य सहित स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मार्फत कार्यक्रम कार्यन्वयनको चरणमा रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
धार्मिक सम्पदा, ऐतिहासिक स्थलहरू, हिमाल, तालहरू, साहसिक खेलको ठूलो सम्भावना रहेको गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रको रुपमा विकास गर्न स्थानीय, प्रदेश र सङ्घ सरकार बीच सहकार्य आवश्यक पर्ने उनले बताए । हरेक नागरिकको शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम राख्न सहयोग गर्नु सरकारको पनि दायित्व भएको भन्दै उनले सबैको सहकार्यले स्वजागरण अभियान हरेक नागरिकलाई उर्जा जगाउने एउटा माध्यम बन्ने विश्वास व्यक्त गरे । हरेक क्षेत्र जस्तै राजनीतिक जीवनमापनि साधना उत्तिकै आवश्यक र महत्वपूर्ण रहेको मुख्यमन्त्री पाण्डेले बताए ।
नागरिकहरूको बढ्दो नकरात्मक धारणालाई चिर्न पनि जीवन विज्ञानको मार्गमा राजनीतिक साधना गर्नु जरुरी र आवश्यक रहेको उनले औँल्याए । स्वजागरण भनेको केवल बाहिरी उपलब्धिहरूमा मात्र सीमित नहुने मुख्यमन्त्री पाण्डेको भनाइ छ । यो आन्तरिक शुद्धता, सकारात्मक सोच, र दिगो लक्ष्य प्राप्तिको आधार हो भन्दै मुख्यमन्त्री पाण्डेले जव व्यक्ति स्वयम् सचेत हुन्छ, आत्मबोध गर्छ, तब समाज, प्रदेश र राष्ट्र नै समृद्ध बन्न सक्ने बताए । गत वर्ष चैत १६ देखि २३ सम्म भएको लुम्बिनी जागरणका क्रममा मुख्यमन्त्री पाण्डेले यस वर्ष गण्डकी प्रदेशमा गण्डकी स्वजागरण गर्ने घोषणा गरेका थिए । घोषणा सफल भएकोमा खुशी व्यक्त गरे ।
सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको गण्डकी स्वजागरण अभियानमा आइतबारदेखि एक साता विराट् चक्र विज्ञान’ को अभ्यास हुने उनको भनाइ छ ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्दै एकताबद्ध भएर मन भित्रका विकृतीहरुलाई फालेर नेपाल निर्माणमा सबैलाई जुट्न आग्रह गरे ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सधाका सभामुख कृष्ण प्रसाद धिताल, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, मुख्य सचिव एकनारायण अर्याल, प्रदेश सभा सदस्य पञ्चराम गुरुङ लगायतले बोलेका थिए । एक हप्ते कार्यक्रममा भानु गुरुदेव र रमेश गुरुदेवले सहजिकरण गर्नेछन् । सोही कार्यक्रममा उनीहरुले लेखेका दुई पुस्तक समेत विमोचन गरियो ।
