पोखरा । दशैंलाई लक्षित गरी पोखरामा ल्याइएका भेडा च्याङ्ग्राको बिक्री फूलपाती अघि नै उत्साहजनक देखिएको छ । हिमाली भेकबाट ल्याइएका च्याङ्ग्राको बिक्री उल्लेख्य रूपमा भएपछि केही दिनअघि नै पोखरा आइपुगेका व्यवसायी उत्साहित बनेका छन् । तर, च्याङ्ग्रा पोखरासम्म ल्याउँदा कठिन भौगोलिक अवस्था, यातायातको असुविधा, हिउँ र पहिरोजस्ता समस्याले व्यवसायीले सास्ती बेहोर्नुपरेको छ ।

डोल्पाबाट च्याङ्ग्रा लिएर पोखरा आएका व्यवसायी लाक्पा बुढाका अनुसार उनले ल्याएका करिब चार सय च्याङ्ग्रामध्ये तीन सय बिक्री भइसकेका छन् । अब करिब एक सय च्याङ्ग्रा मात्र बाँकी छन् । सुरुमा प्रतिच्याङ्ग्रा ४५ हजार रुपैयाँसम्ममा बिक्री गरेका उनले अहिले ३८ हजार रुपैयाँमा बिक्री गरिरहेका छन् ।

बुढाका अनुसार च्याङ्ग्रा खरिद गर्दा प्रतिगोटा ३३ देखि ३४ हजार रुपैयाँसम्म पर्छ । ढुवानीलगायतका खर्च जोड्दा पोखरा आइपुग्दासम्म लागत ३६ हजार रुपैयाँभन्दा बढी पुग्छ । त्यसैले बिक्री मूल्यमा धेरै घटबढ हुँदा व्यवसायीलाई घाटा बेहोर्नुपर्ने अवस्था आउने गरेको उनको भनाइ छ ।

यस वर्ष पोखरामा करिब १५ हजार च्याङ्ग्रा भित्रिएको हुन सक्ने बुढाको अनुमान छ । विगतमा चीनबाट समेत च्याङ्ग्रा आउने गरे पनि अहिले नाका बन्द भएकाले अपर मुस्ताङ र अपर डोल्पाबाट च्याङ्ग्रा ल्याउने गरिएको उनले बताए । एउटा गोठबाट ३० देखि ३५ वटाका दरले च्याङ्ग्रा बिक्री गर्ने गरिएको छ ।

च्याङ्ग्रा व्यवसायमा सबैभन्दा ठूलो समस्या यातायात र ढुवानीको रहेको बुढाले बताए । अपर डोल्पाबाट पोखरा ल्याउने क्रममा मुस्ताङ र डोल्पाको सिमानामा तीनदेखि चार फिटसम्म हिउँ जमेको थियो । जेसिबीको सहायताले हिउँ पन्छाएर च्याङ्ग्रा ल्याइएको उनले जानकारी दिए ।

बाटोमा पहिरो खस्दा कतिपय ठाउँमा झोलुङ्गे पुलबाट च्याङ्ग्रा तार्नुपरेको थियो । यस क्रममा केही व्यवसायीका च्याङ्ग्रा खोलामा हाम फालेको घटनासमेत भएको उनले बताए ।

‘व्यवसाय गर्न धेरै दुःख छ । यातायातको सुविधा छैन । कहिलेकाहीँ लागतभन्दा सस्तोमा पनि बेच्नुपर्ने अवस्था आउँछ,’ बुढाले भने, ‘मूल्यमा एकरूपता भए व्यवसाय गर्न सजिलो हुन्थ्यो । बजार व्यवस्थापन र बजारीकरणमा पनि सहयोग आवश्यक छ ।’

हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याउन लाग्ने समय, बाटोको कठिनाइ र ढुवानी खर्चले व्यवसायीको लागत बढाउने गरेको छ । दशैंमा माग बढ्ने भए पनि बिक्री मूल्यमा स्थिरता नहुँदा जोखिम मोल्नुपर्ने अवस्था रहेको व्यवसायीको भनाइ छ ।

बिक्रीका लागि व्यवस्थित मेला सञ्चालन

पोखराको सिमपानी क्षेत्रमा यस वर्ष भेडा च्याङ्ग्रा बिक्रीका लागि व्यवस्थित मेला सञ्चालन गरिएको छ । सिमपानी वन उपभोक्ता समितिका सदस्य तथा भेडा च्याङ्ग्रा मेला कार्यक्रम संयोजक मिलन शमशेर राणाका अनुसार गत वर्षदेखि मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न थालिएको हो ।

पहिले खुला रूपमा च्याङ्ग्रा राखेर बिक्री गर्ने र चरनबापत वन समितिले रकम उठाउने गरिएको थियो । अहिले पनि वन समितिकै मातहतमा रहने गरी स्टल बनाएर बिक्रीको व्यवस्था मिलाइएको राणाले बताए ।

मेलामा शौचालय, मासु काट्ने तथा काटेको मासु बिक्री गर्ने सुविधा, खानेपानी र चमेनागृहको व्यवस्था गरिएको छ । व्यवसायीको सुरक्षा तथा चोरी नियन्त्रणका लागि १५ देखि २० जनालाई परिचालन गरिएको छ । पार्किङ व्यवस्थापनमा समेत जनशक्ति खटाइएको उनले जानकारी दिए ।

उनका अनुसार वन समितिको मातहतमा ४० र निजी जग्गामा करिब ४० गरी ८० वटाको हाराहारीमा स्टलमार्फत भेडा च्याङ्ग्रा बिक्री भइरहेको छ ।

मेलाका लागि स्टल लिने समयअनुसार शुल्क फरक रहेको राणाले बताए । १५ देखि २० दिनअघि नै स्टल लिने व्यवसायीबाट ३० हजार रुपैयाँसम्म शुल्क लिइएको छ भने पछि आउनेलाई १० हजार रुपैयाँसम्ममा स्टल उपलब्ध गराइएको छ । अवस्थाअनुसार केही व्यवसायीलाई निःशुल्क स्टलसमेत दिइएको उनले बताए । निजी जग्गामा रहेका स्टलको शुल्क भने ५० हजार रुपैयाँसम्म रहेको उनको भनाइ छ ।

वन समितिले गरेको आम्दानीको १० प्रतिशत पोखरा महानगरपालिकालाई उपलब्ध गराउने गरी सम्झौता भएको राणाले जानकारी दिए । गत वर्ष पनि सोही व्यवस्थाअनुसार रकम बुझाइएको उनले बताए । मेला संयोजकका रूपमा आफूले वन समितिलाई चार लाख रुपैयाँ बुझाउनुपर्ने दायित्व रहेको उनको भनाइ छ । वन समितिले प्राप्त रकम विभिन्न कार्यमा खर्च गर्ने गरेको उनले बताए ।

यस वर्ष पोखरामा प्रतिच्याङ्ग्रा २० हजारदेखि ४५ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । फूलपाती अघि नै ठूलो सङ्ख्यामा च्याङ्ग्रा बिक्री भइसकेकाले पछिल्लो समय बजारमा च्याङ्ग्राको सङ्ख्या घट्न सक्ने र त्यसले मूल्य बढाउन सक्ने व्यवसायीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0