काठमाडौँ । ट्राइबेकरमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई हराउँदै एपीएफ एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलको ट्राइब्रेकरमा ब्ल्याक बुल्सलाई ४–३ ले हराउँदै एपीएफले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेलमा पराजित भएको ब्ल्याक बुल्सले गत माघमा पोखरामा भएको २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो । अब एपीएफले सेमिफाइनल प्रवेशका लागि सङ्कटा क्लबसँग खेल्नेछ ।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा एपीएफका गोलकिपर एन्जल श्रेष्ठ नायक बने । उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै खेल आफ्नो पक्षमा पारे ।
फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछ । पहिलो खेल साढे ११ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्युरोड टिमबीच प्रतिष्पर्धा हुने तालिका छ ।
