पोखरा । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण स्थलको विहीबार निरीक्षण गरेकाछन्
पोखरा महानगरपालिका वडा नं. २६ को चापाको चौर भन्ने स्थानमा सङ्घीय सरकारले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्न लागेको हो ।

सुविधा सम्पन्न सय शैयाको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी टेन्डर प्रक्रिया अगाडि बढाउन लागेको छ । यसका लागि चालु आर्थिक वर्षमा दश करोड रुपैयाँ विनियोजन भएको छ ।

जग्गाको निरीक्षण पछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका हिसाबले निर्माणस्थल राम्रो रहेको उल्लेख गर्दै, चिकित्सालयको निर्माणले पार्ने सकारात्मक र नकरात्मक प्रभावका विषयमा तयार गर्ने प्रतिवेदन छुटेकोमा त्यो पनि पुरा भएको बताए । मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगमा योजनाका लागि पठाउँदा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन छुट भएको पाएपछि त्यसलाई पनि टेन्डर प्रक्रियाद्वारा सेवाप्रदायक संस्था छनौट गरी तयार गरिएको बताए । 

मन्त्री पौडेलले विनियोजन भएको दश करोड रुपैयाँ अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरे लगत्तै सम्पूर्ण प्रक्रिया पुरा गरी निर्माणको बोलपत्र आव्हान गरिने उल्लेख गरे ।  

सय शैया चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध गराइएको र थप दश रोपनी जग्गाका लागि सुनिश्चितता गरिएको पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले बताए।  

अध्यक्ष थापाका अनुसार यसअघि २५ शैयाको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै सङ्घीय सरकारलाई सय शैयाको चिकित्सालय निर्माणका अनुरोध गर्दै, उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । 

सङ्घीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आर्युवेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो । चिकित्सालय निर्माणका लागि ६० करोड रुपैयाँको लागत अनुमान रहेको छ ।
शिक्षाविद् रवि बरालले तीन दशक अगाडि सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गर्दै, चिकित्सालय निर्माणको कार्यलाई शीघ्रता दिन मन्त्री पौडेललाई आग्रह गरे । बरालले निर्माणस्थलको वातावरण राम्रो रहेको उल्लेख गर्दै, स्थानीय समुदाय समेत सकारात्मक भएकाले चिकित्सालय निर्माणका लागि सहज भएको बताए ।

स्थानीय कुलदिप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै, कहिँ कतै अवरोध नभएकाले चाँडो प्रक्रिया अगाडि बढाइदिन आग्रह गरे । 

चिकित्सालयमा शिरोधारा, साउना वाथ, स्टिम वाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथिक, योग लगायतका सेवा उपलब्ध हुने गण्डकी आर्युवेद अस्पतालका प्रमुख डा. शङ्कर गौतमले जानकारी दिए । 

पञ्चकर्म सेवाका लागि भीआईपी डिलक्स, र डिलक्स गरी पाँचवटा भिल्ला तयार गरिने समेत डा. गौतमले जानकारी दिए ।
डिलक्स पछि क्याविन र साधारण शैया गरेर एकसय पुर्याईने जानकारी दिदै डा. गौतमले आवासिय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने गरी चिकित्सालयको डिपिआर तयार गरिएको बताए। 

विभिन्न राष्ट्रका भिआईपीहरुले पञ्चकर्मको सेवा र जानकारी लिन आएमा उनिहरुलाई भीआईपी डिलक्स उपलब्ध गराउनेगरी डिजाईन तयार गरिएको गौतमले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0