पोखरा । पोखरामा फागुन ४ गते आइतबारबाट दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी २०८१ हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । सिर्जनशील कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी पोखरामा आयोजना गर्न लागिएको हो । प्रदर्शनी फागुन ८ गतेसम्म पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा सञ्चालन हुनेछ ।
प्रदर्शनीमा कुल ८० वटा चित्र प्रदर्शनमा राखिने सदस्य सचिव श्रेष्ठले खुलाए । अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनीमा राखिएका चित्रको अवलोकन गर्न पाउनेछन् । देशका सुप्रसिद्ध कलाकारको सहभागितामा कार्यक्रम सम्पन्न हुने भएकोले नयाँ तथा पुराना कलाकारको जमघट समेत त्यहाँ हुनेछ । सबै विधाबाट उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तिकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दुई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् । प्रदर्शनी मार्फत छानिएका चित्र काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् ।
राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ । कार्यक्रमको अवलोकन गरेर कलाकार र आयोजकलाई हौसला प्रदान गरिदिनको लागि सबै कलाप्रेमीलाई आयोजकले अनुरोध समेत गरेका छन् । प्रदर्शनीको आइतबार दिउँसो साढे १ बजे गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गर्नेछन् ।
दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी तयारी बैठक शुक्रबार पोखरामा बसेको थियो । कार्यक्रमका संयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका वास्तुकला र अन्य सृजनात्मक कला विभागका विभागीय प्रमुख सौरगंगा दर्शनधारीको अध्यक्षतामा बसेको बैठकमा कार्यक्रमको तयारीबारे छलफल भएको थियो। गतवर्ष समेत प्रदर्शनीको आयोजना गरिएको थियो ।
